प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत देखाउन माग गर्दै माइतीघरमा प्रदर्शन

तु खबर संवाददाता
२०८२ चैत्र ३०, सोमबार २०:४५

अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ। सोमबार माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणको वैध स्रोत खुलाउन सरकारसँग माग गरेका हुन्।

उनीहरूले मन्त्रीहरूले देखाएको सम्पत्ति अस्वाभाविक रहेको दाबी गर्दै त्यसको छानबिन गर्नुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले आयस्रोत खुलाऊ, मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानविन गर, हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरुको हिजो सार्वजनिक सम्पत्ति विवरणमाथि छानबिन हुनुपर्ने माग राखेका छन् ।

उनीहरुले संसद्मा प्रतिपक्षको भूमिका कमजोर भएकाले बाध्य भएर सडकमा आउनु परेको बताएका छन् । जनताको आवाज उठाउन सडकमा आउन बाध्य भएका हौँ, विद्यार्थीहरुले भनेका छन् ।

विद्यार्थी संगठनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका सदस्यहरूको सम्पत्ति विवरण पारदर्शी नभएको आरोप समेत लगाएका छन् ।