प्रधानमन्त्री शाह र मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री गुरुङसहितको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक प्रधानमन्त्री शाहको सम्पत्ति विवरण अनुसार, आमा ध्रुबदेवी साहको नाममा धनुषामा १.२ बिघा जग्गा महोत्तरीमा बुबा रामनारायण साहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ, जसलाई पैतृक सम्पत्ति भनिएको छ । साथै शाहले फेसबुक र युट्युवजस्ता समाजिक सञ्जाल पनि विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनको नाममा धनकुटामा १९ रोपनीभन्दा बढी जग्गा रहेको छ । उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा, उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको पनि विवरणमा लेखिएको छ ।
होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर समेत रहेको छ । उनको नेपाली शेयर बजारमा विभिन्न कम्पनीका सेयरहरू गरेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँको लगानी रहेको विवरणमा उल्लेख छ । एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर बापत् ७० लाख रुपैयाँ उनको सम्पत्तिको रुपमा छ ।
गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको ४८ लाख रुपैयाँ पर्ने एउटा कार रहेको उल्लेख छ ।
उनको नविल बैंकमा ५६ लाख २५ हजार, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको देखाइएको छ । उनीसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३।७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा जग्गा रहेको तथा उनीसित ४५ तोला सुन रहेको विवरण सार्वजनिक गरिएको छ ।
अर्थमन्त्री वाग्लेसित ५ करोड ५० लाखको शेयर तथा ९४ लाख रुपैयाँको सवारीसाधन रहेको पनि विवरणमा लेखिएको छ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले २४ करोड १६ लाख रुपैयाँको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी गरेर २४ करोड १६ लाख रुपैयाँको सम्पत्ति रहेको सार्वजनिक गरेका हुन् ।
पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको ४ करोड रुपैयाँ मुल्य पर्ने अढाई तले घर, काठमाडौँकै मूलपानीमा ५ करोड रुपैयाँ बराबरको ६ आना जग्गा, मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
