नागरिक एपमा थप सेवा, एनओसी र प्रवेशपत्र अब अनलाइन
काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ।
यसैक्रममा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेशपत्र तथा निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) नागरिक एपमार्फतै उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको छ।
सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार उक्त प्रणाली हाल प्राविधिक परीक्षणको चरणमा रहेको छ र आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। प्रणाली सञ्चालनमा आएपछि नागरिकहरूले सरकारी सेवा लिन लाइन बस्नुपर्ने र कागजी प्रक्रिया झेल्नुपर्ने झन्झटमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।
गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ अन्तर्गत यो कार्यक्रम अघि बढाइएको हो। सो कार्यसूची कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्ययोजना तयार गरी सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन मातहतका निकायहरूलाई निर्देशन दिएका छन्।
मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वयलाई तीव्र बनाएको जनाएको छ। सोही क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता भइसकेको छ, जसअनुसार व्यावसायिक इन्जिनियरहरूले आफ्नो प्रमाणपत्र पनि नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) उपलब्ध गराउने सेवा सञ्चालनमा आइसकेको छ। अब थप सेवाहरू एकीकृत भएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ सशक्त हुने अपेक्षा गरिएको छ।
