डीपी अर्याल आज औपचारिक रूपमा सभामुख निर्वाचित हुँदै

तु खबर संवाददाता
२०८२ चैत्र २२, आईतवार ०८:१२

प्रतिनिधिसभाको आज बस्ने बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ। शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका अर्याललाई आजको बैठकले विधिवत् रूपमा घोषणा गर्ने कार्यसूची रहेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्यालको पक्षमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका छन् भने सांसदहरू डा. स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्सालले उनको उम्मेदवारीलाई समर्थन गरेका थिए। अन्य कुनै पनि दल वा स्वतन्त्र सांसदले उम्मेदवारी दर्ता नगराएपछि अर्याल निर्विरोध चयन भएका हुन्।

नेपालको संविधान २०७२ को धारा ९१ बमोजिम प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। सभामुखले संसदको बैठकको अध्यक्षता गर्ने, कार्यव्यवस्था परामर्श समितिको नेतृत्व गर्ने र सदनमा अनुशासन कायम राख्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्छन्।