दुर्गा प्रसाईँ पुनः पक्राउ, भक्तपुर प्रहरीद्वारा नियन्त्रणमा
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईँलाई भक्तपुरस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
पटक-पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँ केही दिनअघि मात्रै सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका थिए। रिहा भएपछि उनले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएको भन्दै प्रशासनले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँ राजावादी अभियन्ताका रूपमा परिचित छन्। सरकारसँग पटक-पटक वार्ता भए पनि आफ्ना माग पूरा नभएको भन्दै उनी असन्तुष्टि जनाउँदै आएका छन्।
प्रशासनका अनुसार पछिल्लो समय चुनाव बिथोल्ने भूमिकामा संलग्न हुन सक्ने आशंकाका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि पनि अदालतको आदेशमा रिहा हुने र फेरि नियन्त्रणमा लिने क्रम दोहोरिँदै आएको छ।
