इजरायल र इरान भ्रमण नगर्न नेपाल सरकारको आग्रह
मध्यपूर्वमा विकसित हुँदै गएको पछिल्लो सैन्य तनाव र असुरक्षित परिस्थितिलाई दृष्टिगत गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै परिस्थितिको सूक्ष्म निगरानी भइरहेको जनाएको छ र तत्कालका लागि यी दुवै देशको यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको छ। मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बन्धित देशका सरकारी तथा सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।
मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन, चनाखो रहन र आफ्नो क्षेत्रमा रहेका अन्य नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाव दिएको छ।
यसका साथै, स्थानीय अधिकारीहरूको पूर्व अनुमति बिना कुनै पनि प्रकारको यात्रा नगर्न र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन सचेत गराइएको छ। रोजगारी वा अन्य कुनै प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका व्यक्तिहरूलाई दुवै देशको अवस्था सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण योजना तत्काल स्थगित गर्न मन्त्रालयले विशेष आग्रह गरेको छ।
यसैगरी, मध्यपूर्वका अन्य देशहरूमा कार्यरत तथा बसोबास गर्ने नेपालीहरूलाई पनि विकसित घटनाक्रमको निरन्तर जानकारी राख्न र सम्बन्धित देशका अधिकारीहरूले सुझाएका पूर्वसावधानीका उपायहरू अपनाउन भनिएको छ। मन्त्रालयले कुनै पनि आपत्कालीन अवस्था वा उद्धारका लागि काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास र कतारको दोहास्थित नेपाली राजदूतावासको सम्पर्क विवरणहरू सार्वजनिक गर्दै ती निकायहरूसँग निरन्तर समन्वयमा रहन नेपाली नागरिकहरूलाई सूचित गरेको छ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि अमेरिकाको शैन्य वेश रहेको देशहरुमा जवाफी आक्रमणसमेत गरेको छ ।
