मध्यपूर्वमा बढ्दो सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघको चिन्ता
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा हालै विकसित सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको कडा निन्दा गरेका छन्। शनिबार एक विशेष विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध गरेको बल प्रयोग तथा त्यसको प्रतिउत्तरमा इरानले यस क्षेत्रभरि गरेको जवाफी सैन्य कारबाहीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई गम्भीर खतरामा पारेको बताए ।
महासचिवले सबै सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न स्मरण गराएका छन् । बडापत्रले कुनै पनि राष्ट्रको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्न निषेध गरेको छ,उनले भने । सैन्य मुठभेड बढ्दै जाँदा यसले सर्वसाधारणको जीवनमा गम्भीर असर पुर्याउने र क्षेत्रीय स्थिरतामा खलल पुग्ने चेतावनी दिँदै उनले तत्काल शत्रुतापूर्ण गतिविधिहरू अन्त्य गरी सबै पक्षलाई वार्ताको टेबुलमा फर्कन आग्रह गरेका छन् ।
महासचिवले अन्तर्राष्ट्रिय विवादहरूको समाधान केवल शान्तिपूर्ण माध्यमबाट मात्र सम्भव भएको कुरामा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको बडापत्र नै विश्व शान्ति र सुरक्षाको मुख्य आधार रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण समाधानको कुनै पनि विकल्प नरहेको स्पष्ट पारेका छन् ।
