गौरमा कर्फ्यु निरन्तर, बिहान २ घण्टा खुकुलो : तनाव नियन्त्रणमा प्रशासन सतर्क

तु खबर संवाददाता
२०८२ फाल्गुन १०, आईतवार ०८:०८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहटको गौर नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार पनि निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश कायमै राखेका हुन्।

प्रशासनका अनुसार अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको थीयो। तर यस अवधिमा पनि सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध रहने स्पष्ट गरिएको छ। बिहान साढे ८ बजेपछि भने अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु कडाइका साथ लागू हुनेछ।

कर्फ्युको सीमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ। यस क्षेत्रभित्र कुनै पनि व्यक्तिको अनावश्यक आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ।

स्थानीय दुई समुदायबीच विवाद उत्पन्न भई स्थिति तनावग्रस्त बनेपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाइएको हो। गौर नगरपालिका-६, सनगढा गाउँमा मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भई तोडफोड, आगजनी र ढुंगामुढा जस्ता घटना बढेपछि प्रशासनले सेना परिचालनसहित कर्फ्यु जारी गरेको थियो।

प्रशासनका अनुसार हाल अवस्था नियन्त्रणमा आएको भए पनि थप अप्रिय घटना हुन नदिन कर्फ्यु जारी राखिएको हो। कर्फ्यु उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिँदै शान्ति र सुरक्षा कायम गर्न स्थानीय बासिन्दालाई सहयोग गर्न आग्रह गरिएको छ।

यसैबीच, घटनालाई उग्र बनाउन भूमिका खेलेको आरोपमा  २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। कर्फ्यु खुकुलो पारिएको समयमा सर्वसाधारण दैनिक उपभोग्य सामग्री खरिदका लागि छिटफुट रूपमा बाहिर निस्किएका थिए।