विरागको ‘दौड, अनिश्चित लक्ष्यको’भित्रको चिन्तन

सञ्जय साह मित्र
२०८२ माघ २७, मंगलवार ०५:५४

मकवानपुरे साहित्यकाशका उज्ज्वल नक्षत्र हुन् भीम विराग । भौतिक देहावसान भए पनि मकवानपुरे साहित्यको फूलबारीमा गाइरहेकै छन् साहित्यको राग । गीत–संगीत, सिर्जना र चिन्तन सबै क्षेत्रमा देखिन्छन् विरागको राग । आफूलाई साहित्यकारभन्दा गीतकार भनिदिए हुन्थ्यो जस्तो मान्ने विराग संगम छन् – साहित्य, कला र संगीतको । वीरगंजमा जन्मिएर हेटौँडालाई कर्मथलो बनाएका वर्तमानमा सबैभन्दा बढी सम्झिइरहेको छ साहित्यले नै । साहित्यिक संस्थाले त हरेक वर्ष सम्झेको छ नै । शोध, अनुसन्धान, समीक्षा तथा खोजमा पनि निरन्तर भेट्न सकिन्छ उनलाई । अमरत्वको मार्गमा पुर्‍याएको छ विरागलाई उनको साहित्यिक कर्मको सुगन्धले । उनका कृतिहरु प्रकाशनमा आएका भए पनि छरिएर रहेको अवस्थामा भेटिन्छन् अझै पनि यत्रयत्र ।

अनन्त साधक विरागको एउटा कविता भेटिएको छ – सगर साहित्यिक त्रैमासिकमा । सगर साहित्यिक त्रैमासिक प्रकाशित हुन्थ्यो वीरगंजबाट । अग्रज साहित्यकार डा. घनश्याम परिश्रमी वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहुञ्जेल एक प्रतिष्ठित पत्रिका थियो यो । कालान्तरमा प्रकाशन बन्द हुन गएको यो पत्रिका हुन गएको छ इतिहास । पत्रिकाले दिएको योगदान छ अमूल्य र अविस्मरणीय । मोफसललाई साहित्यको उज्यालो प्रकाश दिने सगर अझै पनि ताजा छ धेरैको स्मृतिमा । रचना छापिएपछि यसमा आभार हुन्थ्यो गर्वको अभ्यन्तरमा । साहित्यिक मूल्य र मान्यता तथा उत्कृष्ट सम्पादनका लागि विशिष्ट पहिचानको रुपमा स्थापित सगरका केही अंक उपलब्ध छन् इन्टरनेटमा अझै पनि ।
काव्यमा दर्शनका हिमायती विरागले जीवनको उत्तरार्धमा झन् देखिन्छन् कवितामा कलाका पक्षपाती पनि । जीवन, दर्शन, अनुभव र ज्ञानलाई कलामार्फत प्रस्तुत गर्दा दुरुह हुन नहुने धारणा पनि रहेको देखिन्छ कवि विरागको । भाव गाम्भीर्य तर बोधगम्य शैलीमा कलात्मक काव्य प्रस्तुत गर्ने विरागको एउटा प्रतिनिधि कविताको रुपमा लिन सकिन्छ – ‘दौड, अनिश्चित लक्ष्यको’लाई ।

‘दौड, अनिश्चित लक्ष्यको’लाई मान्न सकिन्छ एक निराशावादी कविता । यद्यपि आशाको सकारात्मक चाहना अभिव्यक्त छ यसमा । लक्ष्यार्थ सकारात्मकता नै हो भन्ने स्पष्ट छ भावार्थमा । आरम्भ यसरी हुन्छ यो कविताको –
“आश्वासन मात्र आश्वासन भएपछि
विश्वासहरू तोडिँदै जाँदो रहेछ सम्पूर्ण मनको
पटकपटक तोडिनुको अर्थ
गाँठो मात्र बाँकी रहनु हो
जीवन, गाँठोमय हुँदै गयो भने
जीवनलाई नै बाँधेर असम्भव हुँदोरहेछ
युगलाई उछिन्दै, नाँघ्दै
दौडिरहेछ घाइते हुँदै इतिहास
किन हो कुन्नि !”

कम्तीमा दुई दशक पहिलेको यस रचनाले तद्युगीन इतिहासलाई मात्र बाँधेको छैन, समेटेको भविष्येतिहासलाई पनि वर्तमानमा समेत टेकेर । आश्वासनभित्र अविश्वास हिजो थियो, आज पनि छँदैछ जस्ताको तस्तै र तत्कालले देखाउँदैन भविष्यमा पनि आश्वासनको पोकामाथि विश्वास गर्नुपर्ने अवस्था कम होला भनेर । पटकपटक तोडिँदै आश्वासन र फेरि जोडिँदै जाँदा समयको जीवनमा पनि परेका छन् गाँठैगाँठो । गाँठो अर्थात् घाइते इतिहास लिएर समय दौडिरहेको छ, इतिहासतिर । कवि दार्शनिक र भावुक दुवै बनेर मनको पीडालाई पोखेका छन्, आशातिर हेर्दै निराश नजरले ।

“परिस्थिति र परिबन्दले
सहेको देखिंदैन यो माटोलाई
माटो नरम भएर नै हो
जसले पायो मुछ्न सक्छ
कुल्चि कुल्चिकन हिलो पार्न सक्छ
एक दोस्राको अनुहारभरि
छ्याप्न पनि सक्छ
यही स्थितिमा अनुहार लुक्छ
चिन्ने प्रयोगमा
गलत परिणामको सामना गर्नुपर्ने हुन्छ”

कवि विरागको सरल कविता मान्नुपर्छ यसलाई । अमूर्त काव्य लेखनको आरोप लाग्ने गरेको थियो विरागलाई । यसमा देखिन्छन् उनी सुस्पष्ट सन्देशवाहकका रुपमा । कविले माटो बिम्बलाई अनेकार्थक रुपमा प्रस्तुत गरेका छन् यसमा । माटोको महत्ता पनि बुझाएको यसले । यसमा छद्मभेषीलाई चिन्न नसक्ने हो भने दिइएको छ गलत परिणाम आउने चेतावनीमूक सन्देश पनि । काव्यलाई अगाडि बढाउँदै भन्छन् कवि –

“भ्रमको चौतारीमा
फन्फन्ती घुमेर मात्र
लक्ष्य प्राप्तिको दावी गर्नेहरूको लागि
जो देखिएको छ त्यो सत्य नहुन पनि सक्छ
नदेखिएको पनि
कहिलेकाही स्वीकार्य हुन सक्छ
यो गणितीय पहेली
बुझ्दैनन् सोझा र सिधाहरूले
विज्ञहरू बोल्दैनन्
साझेदारी डुब्ने डरले
अझै पनि दुविधाग्रस्त पथमा
अनिश्चित दौड जारी रहेकै छ ।”

निकै गहिरो सन्देश छ यसमा – भ्रमको चौतारीमा फन्फनी घुमेर मात्र लक्ष्य प्राप्तिको दाबी गर्नु हुँदैन अनि जे देखिएको छ, त्यो सत्यन नहुन पनि सक्छ । कवि कति सचेत छन् भन्ने कुरोको बोध गराएको मात्र होइन, हाम्रो प्रवृत्ति र कर्मको एउटा रेखा कोरिएको छ पत्थरमा । अनि गणितीय खेल सर्वसाधारण नागरिकले बुझ्ने कुरा पनि पूर्णतः हो नि यथार्थ । र, पनि सबैले देखेको अर्को सत्य हो – दुविधाग्रस्त पथमा अनिश्चित दौड जारी रहेकै छ ।

बिम्ब, प्रतीक र अलंकारले सुसज्जित यस काव्यले युगबोध गराएको छ पाठकलाई । मकवानपुरे काव्यको गरिमा बढाउने यस काव्यले आशाको किरण बोकेर स्वीकारेको छ निराश यात्रा गरिरहेको भावलाई । सोझासिधाहरुले नबुझ्ने र विज्ञहरुले नबोल्ने दोहोरो चेपुवामा समय रहेको बुझेको यस कविताको भाव व्यथित र दुविधाग्रस्त मनको आवाज प्रस्फुटन देखिन्छ दृश्यमा । अन्तर्य चाहिँ सरल र सहज तथा सर्वग्राह्य समाज निर्माणको चाहना नै प्रतिबिम्बित हुन्छ गहिराइमा । अनिश्चित दुविधाग्रस्त समयको दौड कहिले पूरा हुने हो भन्ने प्रश्नमा सकारात्मक जबाफको अपेक्षा रहेको स्पष्ट हुन्छ समग्रमा । निसन्देह सकारात्मक चिन्तन र प्रगत्योन्मुख समाजको चाहना प्रतिबिम्बित छ यस कवितामा ।

सरल र सहज तथा प्रवाहमय प्रस्तुत कवितालाई मकवानपुरे साहित्यको सम्पत्ति मान्नुपर्ने देखिन्छ किनभने वीरगंजबाट प्रकाशित पत्रिकामा छापिएको यस कविताको अन्त्यमा कविको ठेगानाको रुपमा अंकित गरिएको छ – ‘हेटौँडा’ ।

(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४१)