टी-२० विश्वकपस् नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित, दर्शक निरास
टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इङ्ल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १८० रन मात्र जोड्न सकेपछि हार बेहोर्नु परेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९, लोकेश बमले अविजित ३९ र कुशल भुर्तेलले २९ रन बनाएका थिए। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।
यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले ५५, ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ र जोस बट्लरले २६ रनको योगदान दिएका थिए। बलिङमा इङ्ल्यान्डका लियाम डसनले २ विकेट लिए भने साम कुरान, लुक उड, जोफ्रा आर्चर र विल ज्याक्सले १–१ विकेट लिए।
अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको नेपालले यसपटक पनि अन्तिम ओभरसम्म कडा टक्कर दिएर हार बेहोरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निकै चर्चा कमाएको छ। अब नेपालले आगामी १२ तारिखमा इटालीसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।
नेपाली टोलीको हौसला बढाउन भारत पुगेका नेपाली खेल समर्थक भने निरास भएका छन् । जित नजिक रहेर पनि हार व्यहोर्नु परेपछि दर्शक निरास भएका हुन् ।
