स्वास्थ्य बिमामा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्कीको पहल
काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले आज बुधबार स्वास्थ्य बिमासँग सम्बन्धित सबै सरोकारवाला पक्षसँग छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे १ बजे छलफल तय गरिएको छ । छलफलमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य सेवा प्रदायक संस्था तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
पछिल्लो समय स्वास्थ्य बिमा बोर्डले अस्पतालहरूलाई दिनुपर्ने भुक्तानी समयमै नगर्दा देशका विभिन्न भागका अस्पतालहरूले बिमा सेवा बन्द गर्ने निर्णय गरिरहेका छन् । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापतको रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको बताएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको भन्दै स्वास्थ्य बिमा सेवा दिन नसक्ने सूचना समेत जारी गरेको थियो । यस्तै समस्या अन्य ठूला अस्पतालहरूमा पनि देखिएको छ ।
यही परिस्थितिमा बोर्डले व्ययभार बढेको कारण देखाउँदै गत सोमबार एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा दिने निर्णय गरेको थियो । यसअघि सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ लिएर वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा दिँदै आएको बोर्डले सुविधा ह्वात्तै घटाएको हो । उक्त व्यवस्था फागुन १ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ ।
यद्यपि बोर्डका अनुसार आठ प्रकारका कडा तथा दीर्घरोगको उपचार सुविधा भने हालको व्यवस्थाअनुसार नै निरन्तर रहनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले स्वास्थ्य बिमा सुविधा कटौतीपछि देखिएका समस्या र त्यसको समाधानका उपायबारे आजको बैठकमा छलफल हुने जानकारी दिए । रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बिमाको सुविधा पाउन नसकेको र ठूला अस्पतालहरूले समेत सेवा दिन नसक्ने अवस्था आएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएको सचिवालयले जनाएको छ ।
