एरआरएनको १२औं विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। परराष्ट्र मन्त्रालयले सम्मेलनको जानकारी दिंदै सबै गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।
यो महाधिवेशनबाट एनआरएनएको नयाँ नेतृत्व चयन गरिनेछ। सम्मेलनलाई सफल बनाउन सरकार आवश्यक सहयोग र सहजीकरणमा जुटिरहेको मन्त्रालयले जनाएको छ। सम्मेलन व्यवस्थापनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ भने समितिको सचिवालयको जिम्मेवारी एनआरएनए सचिवालयले सम्हाल्नेछ।
‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा शुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर रहेका नेपालीलाई एकतामा बाँध्ने काम गर्दै आएको छ। विगतका महाधिवेशनपछि देखिएका संगठनात्मक समस्या संवाद र सहकार्यबाट समाधान गर्दै २०२५ नोभेम्बर ३० मा एकता कार्यक्रम सम्पन्न भएको थियो।
सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, संविधानले दिएको अधिकार, संयुक्त लगानी, पर्यटन प्रवद्र्धन, स्वास्थ्य, ज्ञान र प्रविधि हस्तान्तरणका साथै महिला, युवा र दोस्रो पुस्तासम्बन्धी विषयमा छलफल हुने बताइएको छ। कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएन अभियन्ता तथा स्वदेश–विदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
