देश जोड्न मधेस जाँदैछु – उम्मेदवार गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले काठमाडौँ-४ का मतदातालाई धन्यवाद ज्ञापन गरेका हुन्।
थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने तर अधिकारविहीन अवस्थामा एकता सम्भव नहुने स्पष्ट पारे। ‘म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु। काठमाडौँका कथा मधेस लैजान र मधेसका कथा, पीडा तथा व्यथाहरू बुझेर काठमाडौँ ल्याउन चाहन्छु,’ उनले भने।
पहाडबाट काठमाडौँ बसाइँ सरेको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा सीमित राख्न नहुने उनले बताए। मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दा नजिकबाट बुझी समाधानको पहल गर्दा सिङ्गो नेपालको समस्या समाधानमा योगदान दिन सकिने उनको भनाइ छ।
आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै थापाले काठमाडौँ-४ का मतदातासँग दुई दशक लामो सम्बन्ध रहेको उल्लेख गरे। पहिलो संविधानसभामा समानुपातिक उम्मेदवारदेखि २०७०, २०७४ र २०७९ का प्रत्यक्ष निर्वाचनमा लगातार जित दिलाएकोमा मतदाताप्रति आभार व्यक्त गरे। नाकाबन्दी, भूकम्प र कोरोना महामारीजस्ता कठिन समयमा समुदायसँग मिलेर काम गरेको अनुभव पनि उनले सम्झिए।
पार्टी सभापति भएपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि देश जोड्ने उद्देश्यले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेर सर्लाही रोजेको थापाले स्पष्ट पारे। आफू सर्लाही गए पनि काठमाडौँ-४ लाई मन-मुटुमा राखेर यहाँका जात्रा, पर्व, संस्कृति र विकास निर्माणमा सधैँ जोडिइरहने प्रतिबद्धता उनले जनाए।
काठमाडौँ–४ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको जानकारी दिँदै थापाले आफ्नो अनुभव र तिमल्सिनाको नयाँ जोश मिसाएर क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे।
‘सिङ्गो देशको नेता हुनका लागि एकपटक मधेसको माटोमा टेक्नुपर्छ,’ भन्दै उनले काठमाडौँका मतदातालाई आफ्नो निर्णय बुझिदिन आग्रह गरेका छन्।
