चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगमा कडाइ गरेको छ। आयोगका अनुसार जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइनेछ।
आयोगले प्रचारप्रसारका अन्य सामग्रीमा राष्ट्रिय झण्डा प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाएको स्पष्ट पारेको छ। तोकिएको संख्याभन्दा बढी झण्डा प्रयोग गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन हुने र त्यसो गरे कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।
पछिल्लो समय उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रम, मत माग्ने अभियान र सभा–सम्मेलनमा राष्ट्रिय झण्डाको व्यापक प्रयोग गर्न थालेपछि यसप्रति आपत्ति जनाइएको आयोगले जनाएको छ। राष्ट्रिय झण्डाको गरिमा र सम्मान नबुझी गरिएको यस्तो प्रयोगविरुद्ध सार्वजनिक रूपमा समेत विरोध हुन थालेको छ।
विशेषगरी सामाजिक सञ्जाल र सडक प्रदर्शनहरूमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग भएको गुनासो आएपछि आयोगले स्पष्ट निर्देशन जारी गरेको हो। आयोगले निर्वाचन आचारसंहिताको स्मरण गराउँदै सबै राजनीतिक दल र उम्मेदवारलाई राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी तोकिएका सीमा र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
