न्युयोर्क र न्युजर्सीमा हिमपातको सामना गर्न संकटकाल घोषणा

तु खबर संवाददाता
२०८२ माघ १०, शनिबार २२:२१
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

न्युयोर्क सहितका स्थानहरूमा भीषण हिमपात हुने अनुमानका साथ स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।

हालसम्मकै ठूला हिमपातमध्ये एक हुन सक्ने मौसमविद्हरूको चेतावनीपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। हिमपातसँग जुध्न न्युजर्सी र न्युयोर्कका गभर्नरहरूले राज्यहरूमा संकटकाल घोषणा गरेका छन्। न्युयोर्कसहित हडसन भ्याली र न्युजर्सीका धेरै भागहरूमा १२ इन्चसम्म हिउँ पर्ने बताइएको छ। जसका कारण यी सहरहरूमा हप्ताभर अत्यधिक चिसो हुने मौसमविद्हरूले बताएका छन्।

बाहिर अनावश्यक यात्रा नगर्न प्रशासनले सुझाव दिएको छ। निजी सवारीसाधनहरू कम चलाउन आग्रह गरिएको छ। न्युयोर्कको यातायात विभागले हिमपातको समयमा पनि ट्रेन तथा बसहरू पूर्ववत् सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ।

सरकारी विद्यालयहरू बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन सञ्चालन गर्ने तयारी गरिएको छ। सहरका विभिन्न स्थानमा नुन छर्किएको छ र उद्धार सामग्रीहरू तयारी अवस्थामा राखिएको छ। न्युजर्सीका २१ वटै काउन्टीमा संकटकाल लागू गरिएको छ भने न्युयोर्क र न्युजर्सीमा उद्धार संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको छ।न्यु जर्सीका सबै काउन्टीहरुमा शनिबार साँझ ५ बजेदेखि संकटकाल घोषणा गरिएको हो ।

न्युयोर्ककी गभर्नर क्याथी होकुलले संकटकाल घोषणा गर्दै नेशनल गार्डलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी छिन्। हिउँ सफा गर्न ७०० भन्दा बढी मेसिन र कर्मचारीहरूलाई परिचालन गरिएको छ।

गभर्नरको निर्देशनमा राज्यका उद्धार तथा प्रतिकार्य एजेन्सीहरू विगत केही दिनदेखि तयारीमा जुटेका छन्। सोमबारका लागि सबै गैरअत्यावश्यक राज्य कर्मचारीहरूलाई सम्भव भएसम्म घरबाटै काम गर्न निर्देशन दिइएको छ।

शुक्रबार रातिदेखि अत्यधिक चिसो बढ्नेछ भने शुक्रबार र शनिबार राति राज्यभरिको तापक्रम ‘माइनस’मा पुग्ने अनुमान गरिएको छ। आइतबार बिहानदेखि ठुलो हिउँदको आँधी सुरु भई सोमबारसम्म जारी रहनेछ। न्यूयोर्क सिटी, लङ आइल्याण्ड, हडसन भ्याली, क्यापिटल रिजन लगायतका क्षेत्रहरूमा व्यापक हिउँ पर्ने स्थिति छ ।

‘न्यूयोर्कको हिउँद हाम्रो नियन्त्रण बाहिरको कुरा त होइन, तर अत्यधिक चिसोसँगै आउने जोखिमहरूलाई गम्भीरतापूर्वक लिनु महत्त्वपूर्ण छ, गभर्नर होकुलले भनिन् । हिउँ परिरहेको बेला न्युयोर्कबासीहरूले यात्रा नगर्नु नै राम्रो हुन्छ। यदि यात्रा गर्नै परेमा, थप समय लिएर निस्कनुहोस् र आफ्नो कारमा कम्बल, पानी र खाजा जस्ता आवश्यक सामग्रीहरू राख्नुहोस्। सुरक्षा नै सधैं हाम्रो उच्च प्राथमिकता हो, उनले भनेकी छिन् ।