आज प्रतिनिधिसभा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुँदै
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने भएको छ। आयोगका अनुसार साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो। मनोनयन दर्तापछि बुधबार उम्मेदवारविरुद्ध दाबी-विरोध (उजुरी) दिने म्याद तोकिएको थियो। सो उजुरीमाथि जाँचबुझ तथा आवश्यक निर्णय गरी आज नामावली प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। भक्तपुर–२ मा दुई जना उम्मेदवार राजिव खत्री र जानुका पाठकविरुद्ध उजुरी परेको छ भने सुनसरी–२ मा लालविक्रम थापा, रौतहट-१ मा माधव नेपाल र कैलाली-१ मा रेशम चौधरीविरुद्ध उजुरी दर्ता भएको छ।
उजुरी प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार सम्बन्धित निर्वाचन अधिकृतसमक्ष दर्ता गरिएको थियो। उजुरी दर्तापछि निर्वाचन अधिकृतले तोकिएको प्रक्रिया अनुसार विवरण कार्यालयमा प्रकाशन गरेका छन्। जसकाविरुद्ध उजुरी परेको हो, ती उम्मेदवारले सूचना प्रकाशन भएको मितिदेखि तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
आयोगका अनुसार हालसम्म प्राप्त विवरणअनुसार पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना गरी कुल ३,४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।


