चुनावी मैदानमा उत्रने संकेत: शिक्षामन्त्री महावीर पुनको राजीनामा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि उनले मंगलबार बिहान राजीनामा दिएका हुन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।”
प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्री पुनले राजीनामा दिएको पुष्टि गरेको छ। पुन गत असोज ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका थिए।
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूको राजीनामाको क्रम जारी छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्। घिसिङ, खरेल र गुप्ता आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।
महावीर पुनले भने हालसम्म कुन दल वा कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा सार्वजनिक रूपमा केही बताएका छैनन्।


