भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सोमबार अदालतमा उपस्थित गराइने
न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लागुऔषध र आतंकवाद (नार्को-टेररिज्म) सँग सम्बन्धित २५ वर्षे षड्यन्त्रको नेतृत्व गरेको गम्भीर आरोपमा सोमबार न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइने भएको छ।चार बुँदे अभियोग पत्र दर्ता गरिएका मादुरोलाई म्यानहटन संघीय अदालतका न्यायाधीश एल्भिन हेलरस्टाइन समक्ष बयानका लागि पेश गरिने तयारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा भेनेजुएलामा गरिएको सैन्य कारबाहीपछि मादुरोलाई नियन्त्रणमा लिइएको थियो। उनलाई शनिबार न्युयोर्कस्थित संघीय हिरासतमा राखिएको छ। कारबाहीपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले अस्थायी रूपमा भेनेजुएलाको प्रशासन सम्हाल्ने र त्यहाँको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने घोषणा समेत गरेका छन्।
मादुरो र उनकी पत्नीलाई राति नै उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग गरेकी छिन्। उनले भनिन्, ‘भेनेजुएलामा एकजना मात्र राष्ट्रपति छन् र उनी निकोलस मादुरो मोरोस हुन् ।’
अमेरिकाले महिनौँदेखि भेनेजुएलामाथि सैन्य कारबाहीका लागि गोप्य योजना बनाएको र मादुरोसँग सम्बन्धित सूचनाहरू संकलन गरेको बुझिएको छ। शनिबारको आक्रमणअघि राजधानी काराकासको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको थियो भने करिब आधा घण्टाभित्रै सम्पूर्ण कारबाही सम्पन्न भएको थियो।
पक्राउ परेलगतै उनलाई अमेरिकाको स्टुअर्ट एयर नेसनल गार्ड बेसमा ल्याइएको थियो भने पछि हेलिकप्टरमार्फत न्युयोर्क पुर्याइएको हो। हाल उनलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ।
मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि भेनेजुएला सरकार र समर्थकहरूले यसको कडा निन्दा गर्दै विरोध जनाएका छन्। उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसलाई औपनिवेशिक युद्ध र शासन परिवर्तनू गर्ने प्रयास भन्दै कडा आपत्ति जनाएकी छिन् भने रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले यसलाई अपराध र पवित्र भूमिमाथिको आक्रमणको संज्ञा दिँदै साम्राज्यवादी विरुद्ध एकजुट हुन आह्वान गरेका छन्।
क्षेत्रीय स्तरमा ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी कदमले अस्वीकार्य सीमा नाघेको र यो ल्याटिन अमेरिकाको इतिहासकै कालो क्षण भएको बताएका छन्। त्यस्तै, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यसले क्षेत्रीय शान्तिमा खलल पुर्याउने चेतावनी दिएका छन् भने क्युबा र मेक्सिकोले यसलाई राज्य प्रायोजित आतंकवाद र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेका छन्।
यस घटनाप्रति अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूले पनि कडा प्रतिक्रिया दिएका छन्। चीनले अमेरिकी आक्रमणलाई ‘हेजिमोनिक एक्ट’ भन्दै यसले संयुक्त राष्ट्र संघको बडापत्रको धज्जी उडाएको आरोप लगाएको छ।
रुसले पनि गम्भीर चासो व्यक्त गर्दै यसले विश्वव्यापी अस्थिरता निम्त्याउने चेतावनी दिएको छ। युरोपेली नेताहरू मादुरोको वैधताका विषयमा विभाजित देखिए पनि फ्रान्स लगायतका देशहरूले सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई पक्राउ गर्ने शैलीको विरोध गरेका छन्।
यता संयुक्त राष्ट्र संघले यसलाई ‘खतरनाक नजिर’ भन्दै चिन्ता व्यक्त गरिरहँदा अमेरिकाभित्रै पनि विवाद चुलिएको छ। पूर्व उपराष्ट्रपति कमला ह्यारिस, न्युयोर्ककी गभर्नर क्याथी होकुल र मेयर जोहरान मन्दानीले यसलाई शक्तिको दुरुपयोग र ‘युद्धको कार्य’ भन्दै राष्ट्रपति ट्रम्पको कदमको आलोचना गरेका छन्।
अर्कोतर्फ, केही देशहरू र रिपब्लिकन सांसदहरूले अमेरिकी कारबाहीको पूर्ण समर्थन गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मादुरोको शासनलाई ‘अवैध तानाशाही’ भन्दै इजरायल स्वतन्त्रता प्रेमी भेनेजुएलाका जनताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले यसलाई ‘नयाँ स्वतन्त्रता’ को संज्ञा दिँदै न्यायको जित भएको बताएका छन्। त्यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री कीर स्टार्मर र जर्मनीले मादुरोको शासन अन्त्य हुनुलाई सकारात्मक रूपमा लिँदै लोकतन्त्र पुनर्बहालीको आशा व्यक्त गरेका छन्।
एसियाली क्षेत्रबाट जापानले लोकतन्त्रका लागि अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ भने अल्बानियाले एक कट्टर सहयोगीको रूपमा यस कदमको पूर्ण समर्थन गरेको छ।


