महंगो भयो सुनको मुल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८० रुपैयाँमा खरिद बिक्री भइरहेको हो ।
नेपाली बजारमा सुनको मूल्य घटबढ हुनुमा आन्तरिकभन्दा बढी बाह्य र नीतिगत कारणहरू जिम्मेवार रहने गरेका छन्। मुख्यतया, विश्व बजारमा हुने राजनीतिक अस्थिरता, युद्ध र आर्थिक संकटका बेला लगानीकर्ताहरूले सुनलाई सबैभन्दा सुरक्षित लगानी मान्ने हुनाले यसको माग बढ्न गई मूल्यमा वृद्धि हुन्छ।
नेपालमा सुनको दर निर्धारण गर्दा ७५ प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारको मूल्य र बाँकी २५ प्रतिशत भारतीय बजारको दरलाई आधार मानिन्छ। यसका साथै, अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरले पनि सुनको मूल्यमा प्रत्यक्ष असर पार्दछस डलर बलियो हुँदा सुन आयात महँगो पर्न जाने भएकाले स्थानीय बजारमा यसको मूल्य बढ्ने गरेको हो ।
