वैकल्पिक शक्तिलाई एक हुन कुलमान घिसिङको आग्रह

तु खबर संवाददाता
२०८२ पुष १३, आईतवार १२:१८
file-photo

काठमाडौं । ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले सबै वैकल्पिक शक्तिहरू एक भएर अघि बढून् भन्ने चाहना राखेको बताएका छन्। पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सही नेतृत्व र वैकल्पिक शक्तिहरू सकेसम्म एकता, नसके कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

घिसिङले उज्यालो नेपाल पार्टी सबै वैकल्पिक शक्तिसँग सम्मानजनक रूपमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। आत्मसम्मान र स्वाभिमान नमेटाई सहकार्य गर्नु नै पार्टीको मूल शर्त रहेको उनको भनाइ थियो।सम्मानजनक उपस्थिति, आत्मसम्मान र स्वाभिमान कायम रहँदासम्म सबैसँग सहकार्य गरेर अघि बढ्न हामी तयार छौं, उनले भने।

उनका अनुसार नेपाली जनताको अपेक्षा पनि नयाँ नेतृत्वसहित वैकल्पिक शक्ति एक भएर अगाडि बढोस् भन्ने नै हो। आजको दिनमा जनताले वैकल्पिक शक्तिहरू एक होऊन्, नयाँ नेतृत्व दिऊन् भन्ने चाहेका छन्। त्यसलाई सबैले बुझेर अघि बढ्नुपर्छ, उनले बताए।

घिसिङले वैकल्पिक शक्ति एक बनाउने विषयमा शनिबार साँझसम्म पनि छलफल जारी रहेको जानकारी दिए। तर आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको छ। सहमतिका लागि भएका वार्तामा घिसिङ सहभागी रहे पनि अन्तिम समयमा उनीबिनै लामिछाने र शाहबीच सहमति भएको हो।

यस सन्दर्भमा घिसिङले उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति नभएसम्म कुनै पनि सहकार्य स्वीकार्य नहुने बताएका छन्। वैकल्पिक शक्तिसँग सहकार्यका लागि संवाद जारी रहेको उल्लेख गर्दै उनले केही दिनमै त्यसको सकारात्मक नतिजा आउने विश्वास पनि व्यक्त गरे।

नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जान म पुनः आह्वान गर्छु, घिसिङले भने, जनताको चाहनालाई आत्मसात गर्दै सम्मानजनक सहकार्यका आधारमा अघि बढ्नुपर्छ।