कसैको अस्तित्व समाप्त गरेर एकता हुँदैन : ऊर्जा मन्त्री कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्पष्ट पारेका छन्। नयाँ राजनीतिक शक्तिहरूबीच एकताको चर्चा चुलिँदै गएको सन्दर्भमा उनले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढे मात्र साँचो एकता सम्भव हुने बताएका हुन्।
शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको बौद्धमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।”
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूबीच सहकार्य तथा एकताको प्रयास चलिरहेका बेला मन्त्री घिसिङको यो अभिव्यक्ति आएको हो। उनले जनताको भावना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेको उल्लेख गर्दै अहंकार त्यागेर साझा उद्देश्यका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
घिसिङले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै ‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ’ भन्ने अनुभूतिकै आधारमा पार्टीको सन्देश गाउँ–गाउँसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए। सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको उनको भनाइ थियो।
रास्वपा र बालेनबीच सहकार्यका लागि हालै चार सदस्यीय कार्यदल बने पनि त्यसमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि नसमेटिएको विषयप्रति असन्तुष्टि जनाउँदै घिसिङले एकताको विधि र प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिए। उनले रास्वपा र बालेनसँग मिलेर चुनावमा जाने विषयमा छलफल जारी रहे पनि हालसम्म ठोस निष्कर्षमा नपुगिएको स्पष्ट पारे।
मन्त्री घिसिङले देश अब पुरानै ढर्राबाट अघि बढ्न नसक्ने भन्दै नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशाको आवश्यकता औँल्याए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्दै उनले सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए।
“हामीसँग आम जनताको विश्वास बढ्दै गएको छ,” उनले भने, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ।” तीन पक्षबीच छलफल जारी रहेको उल्लेख गर्दै घिसिङले उपयुक्त विधि र सम्मानजनक सहमतिका आधारमा अघि बढ्ने सम्भावना खुला रहेको बताए।
