राजनीतिक नयाँ ध्रुवीकरणतर्फ संकेत : रास्वपा र बालेन नजिकिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकता तथा सहकार्य प्रक्रिया निर्णायक चरणमा पुगेको छ। बिहीबार ललितपुरको ज्वागलमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच भएको भेटवार्ता सकारात्मक र निष्कर्षउन्मुख रहेको दुवै पक्षका नेताहरूले बताएका छन्। भेटपछि आज पनि दुवै पक्षबाट दुई-दुई जना सहभागी हुने गरी चार सदस्यीय वार्ता समिति बसेर सहमतिका प्रस्तावहरूमा छलफल गर्ने तयारी छ। ती प्रस्तावमा सहमति जुटेपछि रवि र बालेनसहित संयुक्त बैठक बसेर अन्तिम निर्णय लिने तयारी गरिएको छ।
वार्तामा सहभागी स्रोतका अनुसार सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ भने पार्टीको सभापति रवि लामिछाने नै रहनेछन्। एकीकृत पार्टीमा बालेनको वरीयता रविपछिको रहने समझदारी बनेको छ। बालेनले पार्टीभित्र कुनै औपचारिक साङ्गठनिक पदको दाबी नगरेको बताइन्छ, तर जेन-जी प्रतिनिधित्व र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा उनले चासो देखाएका छन्।
पार्टी एकीकरण भएमा पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै राख्ने र चुनाव चिह्न घण्टी प्रयोग गर्ने प्रस्ताव रास्वपाको तर्फबाट आएको छ। घण्टी चुनाव चिह्न यसअघि नै राष्ट्रिय स्तरमा स्थापित भइसकेकाले त्यसैअन्तर्गत अघि बढ्न बालेन तयार रहेको निकट स्रोतहरूले बताएका छन्। यससँगै पार्टीको नीति, झण्डा र संगठनात्मक संरचना पनि रास्वपाकै ढाँचामा रहने सहमति नजिक पुगेको छ।
यसअघि बालेन समूहले ‘देश विकास पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गरिसकेको छ, जसको चुनाव चिह्न लौरो हो। स्थानीय तह निर्वाचनमा यही चिह्नबाट बालेन काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए। तर रास्वपासँग एकता भएमा देश विकास पार्टीलाई अलग रूपमा अघि नबढाई एकीकृत पार्टीमार्फत निर्वाचनमा जाने तयारी गरिएको छ। समानुपातिक उम्मेदवारको सूची मिलाउनुपर्ने भएकाले दुवै पक्ष समयको चापमा रहेको नेताहरूले बताएका छन्।
बालेनले पछिल्ला दिनहरूमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि सक्रियता बढाउँदै विभिन्न राजनीतिक नेता, अभियन्ता, कलाकार, सञ्चारकर्मी र जेन-जी अगुवासँग भेटघाट गरेका छन्। उनले मन्त्री कुलमान घिसिङसँग पनि मिलेर अघि बढ्ने विषयमा सकारात्मक छलफल गरिसकेको स्रोतहरूको भनाइ छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्मसँग भएको संवादले पनि नयाँ राजनीतिक ध्रुवीकरणतर्फ संकेत गरेको छ।
रास्वपा नेताका अनुसार बिहीबारको भेट अत्यन्त सकारात्मक रहेको र आज पनि छलफल हुने सम्भावना छ। दुवै पक्ष सहमतिका अन्तिम प्राविधिक काम टुंग्याउन आन्तरिक गृहकार्यमा जुटेका छन्। नेताहरूका अनुसार आज रातिसम्म रास्वपा र मेयर बालेन समूहबीच पार्टी एकता वा सशक्त सहकार्यको औपचारिक घोषणा हुन सक्ने प्रबल सम्भावना रहेको छ।
