हिउँदयाममा पर्यटक घटेपछि पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित
काठमाडौँ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा-जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा स्थगित गरेका छन्।
नियमित उडान सञ्चालन गर्दै आएका समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना तथा पर्यटक अफ सिजनलाई कारण देखाउँदै उडान रोकेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए।
प्रमुख पोखरेलका अनुसार नियमित उडान स्थगित गरिए पनि चार्टर उडान र आपत्कालीन हेलिकप्टर सेवा भने निरन्तर रूपमा सञ्चालनमा रहनेछ। तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले डिसेम्बर ४ देखि मार्च १ सम्म पोखरा-जोमसोम नियमित उडान बन्द गरिएको जानकारी दिए। त्यस्तै, समिट एयरलाइन्सले पनि करिब दुई महिनाका लागि नियमित उडान स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
हिउँदयाममा मुस्ताङ क्षेत्रमा तीव्र हावाहुरी चल्ने र मौसम प्रतिकूल हुने भएकाले पोखरा-जोमसोम उडान पटक-पटक प्रभावित हुँदै आएको छ। पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक खण्ड क्रमशः सहज बन्दै जाँदा सडकमार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्या बढेको र त्यसको असर हवाई यात्रु सङ्ख्यामा समेत परेको बताइएको छ।
