रास्वपा सभापति रवि लामिछानेलाई केन्द्रीय कार्यालयमा भव्य स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालयमा फर्किएका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार उनलाई बाजागाजासहित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन् ।
भैरहवा कारागारबाट छुटेर शनिबार मात्र काठमाडौं आइपुगेका लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका थिए । अदालतको आदेशपछि उनले ३ करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । रिहाइसँगै उनले पुनः पार्टीको जिम्मेवारी सम्हालेका छन् ।
पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) लगायतका नेताहरूको उपस्थिति थियो । रास्वपा प्रवक्ता मनीष झाले सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालयस्थित आफ्नै कार्यकक्षमा फर्किएको जानकारी दिएका छन् ।
रिहाइपछि लामिछाने सक्रिय राजनीतिक गतिविधिमा देखिएका छन् । शनिबार चितवनको भरतपुरस्थित चौबीसकोठीमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी काठमाडौंमा जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग पनि भेटघाट गरेका थिए ।
