नेपाल जेन-जी फ्रन्टद्वारा १३ सदस्यीय सल्लाहकार परिषद् गठन

तु खबर संवाददाता
२०८२ पुष ६, आईतवार १३:३६

काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना गतिविधिलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रगामी तथा परिवर्तनकारी अग्रज व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको जानकारी दिएको हो ।

नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित विवेकशील साझाका नेता रमेश पौड्याल, आशुतोष तिवारी, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन् । यस्तै परिषद्का अन्य सदस्यहरूमा डा. रामजी राम, डा. मीना पौडेल, साधना राई र प्रगति राई छन् ।

फ्रन्टले विज्ञप्तिमार्फत आफ्नो आन्दोलन तथा विद्रोहपछि नेपाल सरकारसँग भएको सम्झौताको पूर्ण परिपालना र कार्यान्वयनका लागि खबरदारी गर्न सल्लाहकार परिषद् गठन गरिएको जनाएको छ । ‘फ्रन्टका यस्ता कार्यलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा रहेका अग्रगामी परिवर्तनकारी अग्रजहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

जेन-जी विद्रोहपछिको वर्तमान सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले सफल अवतरण गराउन नेपाल सरकार र जेन-जीबीच भएको सम्झौताको पूर्ण कार्यान्वयन तथा आसन्न प्रतिनिधि सभाको निर्वाचन समयमै हुनु अपरिहार्य रहेको फ्रन्टको धारणा छ ।

फ्रन्टले अन्तरिम नागरिक सरकारलाई सम्झौता कार्यान्वयनका लागि सजग गराउँदै आगामी प्रतिनिधि सभा निर्वाचनमार्फत निर्वाचित संसद् र नयाँ सरकारले पनि जेन-जी विद्रोहको मर्म आत्मसात् गरोस् भन्ने उद्देश्यसहित विभिन्न बहुपक्षीय सरोकारवाला संवाद तथा जनजागरण कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको जानकारी दिएको छ ।