एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

तु खबर संवाददाता
२०८२ पुष ४, शुक्रबार १०:०५

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने गरी तय भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

उपाध्यक्ष गोकर्ण विष्ट र नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार शपथग्रहणपछि सुरु भएको नयाँ कार्यकालको औपचारिक पहिलो बैठकमा पार्टीका महत्वपूर्ण राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुनेछ। बिहीबार साँझ अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण सम्पन्न भइसकेको छ।

आजको बैठकमा ११औँ महाधिवेशनको समग्र समीक्षा, समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने बताइएको छ। साथै पार्टीको केन्द्रीय सचिवालय, पोलिटब्युरो र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि एजेन्डामा पर्न सक्ने नेताहरूले जनाएका छन्।

हालै सम्पन्न महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन्। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए।

पहिलो बैठकले पार्टीको आगामी राजनीतिक र संगठनात्मक दिशाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।