थाइल्याण्ड-कम्बोडिया सीमामा तनाव : थाइल्याण्डद्वारा हवाई आक्रमण

तु खबर संवाददाता
२०८२ मंसिर २२, सोमबार १०:१४

काठमाडौं । दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरू थाइल्याण्ड र कम्बोडियाबीच पुनः सैन्य तनाव चर्किएको छ । नयाँ लडाइँको शृंखलाको सुरुआतसँगै थाइल्याण्डले सोमबार कम्बोडियामाथि हवाई आक्रमण गरेको छ । यससँगै दुई महिना अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा भएको शान्ति योजना विफल हुने जोखिम बढेको छ ।

हप्तौँदेखिको तनाव र युद्धविराम सम्झौताको प्रगतिलाई थाइल्याण्डले निलम्बन गरेपछि दुवै देशले सोमबार बिहान एक-अर्कामाथि सीमा क्षेत्रमा आक्रमण थालेको आरोप लगाएका छन् । थाइल्याण्डको सेनाले कम्बोडियाले स्थानीय समयअनुसार बिहान करिब ३ बजेदेखि थाई सीमालाई लक्षित गरी आक्रमण सुरु गरेको दाबी गरेको छ ।तर कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयले थाई आरोपलाई अस्वीकार गर्दै सामाजिक सञ्जाल एक्स मा जारी विज्ञप्तिमा यसलाई “झूटा जानकारी” भनेको छ । छुट्टै विज्ञप्तिमा कम्बोडियन सेनाले भने थाई सेनाले बिहान ५:०४ बजे कम्बोडियन फौजमाथि आक्रमण गरेको आरोप लगाएको छ । थाई सेनाले पछिल्ला दिनहरूमा लगातार उत्तेजक गतिविधिमा संलग्न भएपछि यो अवस्था सिर्जना भएको हो विज्ञप्तिमा उल्लेख छ ।

सीएनएन समाचार अनुसार यसअघि जुलाईमा भएको पाँच दिने सीमा द्वन्द्वमा दुवै पक्षका दर्जनौँ व्यक्तिको ज्यान गएको थियो भने सीमाका दुवै तर्फ करिब दुई लाख मानिस विस्थापित भएका थिए । सो द्वन्द्वपछि अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा जुलाई २८ मा प्रारम्भिक युद्धविराममा सहमति भएको थियो । तर हस्ताक्षर भएको दुई हप्ताभित्रै सम्झौतामा खटपट सुरु भएको थियो ।थाइल्याण्डले सीमामा बारुदी सुरुङ विस्फोट हुँदा आफ्ना सैनिक घाइते भएपछि युद्धविरामको प्रगति रोकेको जनाएको छ । यद्यपि, अक्टोबरको अन्त्यमा क्वालालम्पुरमा ट्रम्प र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको उपस्थितिमा दुवै देशले विस्तारित युद्धविराम घोषणामा हस्ताक्षर गरेका थिए, जसलाई ट्रम्पले ठूलो कूटनीतिक उपलब्धिको रूपमा प्रस्तुत गरेका थिए ।

रोयल थाई एयर फोर्स का अनुसार हालका हवाई आक्रमणमा सैन्य पूर्वाधार मात्र लक्षित गरिएको छ । कथित रूपमा ती आक्रमणहरू हतियार डिपो, कमाण्ड सेन्टर र रसद मार्गहरूमा केन्द्रित थिए, जसले थाई सीमा क्षेत्रमा प्रत्यक्ष खतरा निम्त्याइरहेको थियो ।आरटीएएफ ले कम्बोडियाले भारी हतियार परिचालन गर्दै लडाइँ एकाइहरू पुनःस्थितिमा राखेको आरोप पनि लगाएको छ ।थाई सेनाका अनुसार सोमबारको हवाई आक्रमण अघिल्लो दिन भएको आक्रमणको बदला थियो, जसमा एक थाई सैनिकको मृत्यु र दुई जना घाइते भएका थिए । मेजर जनरल विन्थाई सुवारीका अनुसार निशाना चोंग एन पास क्षेत्रमा रहेका कम्बोडियाली हतियार समर्थन स्थलहरूमा आक्रमण गरिएको हो ।

यसैबीच थाइल्याण्डले सीमावर्ती शहरहरूबाट करिब ७० प्रतिशत नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । निकासी प्रक्रियाका क्रममा पहिलेदेखि स्वास्थ्य समस्या रहेका एक नागरिकको मृत्यु भएको पनि थाई पक्षले पुष्टि गरेको छ ।कम्बोडियाले भने सबै अघिल्ला सम्झौताहरूको सम्मान गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ ।