बालेन शाहका बुवा रामनारायण शाहको सिभिल अस्पतालमा निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारका क्रममा निधन भएको छ। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका अनुसार रामनारायण शाहको पिसाबमा देखिएको संक्रमण शरीरभर फैलिएको थियो। साथै मस्तिष्कमा असर पुगेको र रगत जाम हुने समस्या समेत देखिएकोले गम्भीर अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पताल ल्याउँदा नै उहाँ बेहोस अवस्थामा रहेको चिकित्सक टोलीले जनाएको छ।
सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले रामनारायण शाहको आज मध्यान्ह निधन भएको पुष्टि गरेका छन्।
मेयर बालेन शाहलाई सान्त्वना दिन र रामनारायण शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की सोमबार अस्पताल पुगेकी थिइन्।
आयुर्वेद चिकित्सकसमेत रहेका रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।



