चार वर्ष लामो विभाजनपछि एनआरएनए एकताबद्ध

तु खबर संवाददाता
२०८२ मंसिर १४, आईतवार १३:३३

काठमाडौँ । नेपालको गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र पछिल्ला चार वर्षदेखि चलेको आन्तरिक कलह र विभाजन अन्त्य गर्दै आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता घोषणा गरिएको छ। यो एकता १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यता विवाद र त्यसपछिका कानुनी लडाइँको परिणाम स्वरूप विभाजित भएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको समूहबीच भएको थीयो।

सहमति अनुसार २०२३ अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमिति र सर्वोच्चको आदेशपछि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा गठन भई २०२५ मेमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति दुवैलाई स्वीकार गरिएको छ।मुख्यतया १७ अप्रिल २०२६ सम्ममा संघको १२औं महाधिवेशन सम्पन्न गर्ने र महाधिवेशनलाई निष्पक्ष बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ, जसका सदस्यहरू १२औं महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्।

यसबाहेक  संघको आधिकारिकता लगायतका विषयमा अदालतमा दायर गरिएका सबै मुद्दा फिर्ता लिइने, दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी बनाउन स्वतन्त्र अडिट गराइने तथा डा. बद्री केसीले ११औं महाधिवेशनको प्रतिवेदन १२औं महाधिवेशनका अध्यक्ष महेशकुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने सहमति पनि भएको छ। १० बुँदे सहमतिलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहबरमा हस्ताक्षर गरी अभिलेखीकरण गरिएको छ र यसको कार्यान्वयन संघको विधानअनुसार हुने तथा विवाद आएमा परराष्ट्र मन्त्रालयको समन्वयमा समाधान गरिनेछ।