हङकङको आवासीय कम्प्लेक्समा आगलागी :कम्तीमा ४४ को मृत्यु
काठमाडौं ।हङकङको एक विशाल आवासीय कम्प्लेक्समा अचानक लागेको भीषण आगलागीले कम्तिमा ४४ जनाको ज्यान लिएको छ भने २७० भन्दा बढी अझै बेपत्ता छन्। दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक आगो मानिएको यो दुर्घटना २० घण्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। घना जनसंख्या र कडा निर्माण मापदण्डका लागि चिनिने हङकङमा आगो यति छिटो र असामान्य रूपमा फैलिनु अधिकारीहरूका लागि ठूलो प्रश्न बनेको छ। दमकल विभागका अनुसार केही अपार्टमेन्टका झ्यालहरू अत्यन्तै ज्वलनशील पोलिस्टायरिन बोर्डले ढाकिएका थिए, जसका कारण आगो तीव्र गतिमा फैलिएको सम्भावना रहेको छ।
नवीकरणका क्रममा प्रयोग गरिएका सुरक्षात्मक जाल, क्यानभास र प्लास्टिक कभरहरूले पनि आगो फैलन योगदान गरेको शंका छ। यी सामग्रीहरूको उपस्थिति असामान्य रहेको भन्दै घटनालाई प्रहरी अनुसन्धानमा पठाइएको छ।
यस घटनापछि हङकङ प्रहरीले हत्याको आशंकामा एक निर्माण कम्पनीसँग सम्बन्धित दुई निर्देशक र एक सल्लाहकारलाई पक्राउ गरेको छ। उनीहरूलाई घोर लापरवाहीको आरोप लगाइएको छ। हङकङका नेता जोन लीले निर्माण सामग्रीले फायर-सेफ्टी मापदण्ड पूरा गरेको थियो कि थिएन भन्नेबारे विस्तृत छानबिन गर्न कार्यदल गठन गरिएको बताए। उद्धारका क्रममा अत्यधिक तापक्रम र भवनका माथिल्ला तलामा खसेका भग्नावशेषले दमकलकर्मीहरूलाई फसेकाहरूसम्म पुग्न कठिन भएको थियो। बिहान ८ बजेसम्म ६६ जना घाइते अस्पतालमा भर्ना भएका छन् जसमा ४१जनाको अवस्था गम्भीर छ। करिब ९०० भन्दा बढी विस्थापितहरू अस्थायी आश्रयमा बसिरहेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै राहत तथा उद्धारका लागि सबै किसिमको प्रयास गर्न निर्देशन दिएका छन्। हङकङका नेता जोन लीले घटनालाई एक ठूलो विपत्ति भन्दै उद्धारकर्मीप्रति आभार व्यक्त गरेका छन्। यस बीचमा चिनियाँ टेक कम्पनी र कपडा कम्पनी ले गरी करिब ६.४ मिलियन अमेरिकी डलर बराबरको चन्दा उपलब्ध गराउने घोषणा गरेका छन्, जसले आपतकालीन उद्धार, राहत, बासस्थान र मनोवैज्ञानिक सहयोगमा प्रयोग हुने बताइएको छ।
आगलागीको कारण अझै स्पष्ट हुन बाँकी छ। पहिलो भवनबाट आगो फैलिनासाथ अन्य ब्लक किन तुरुन्तै खाली गरिएन, ज्वलनशील पदार्थ किन प्रयोग गरियो, र भवन नवीकरणमा सुरक्षा मापदण्ड कति कडाइका साथ पालना गरियो-यी सबै प्रश्नको जवाफ पाउन अनुसन्धान अझै जारी रहेको अधिकारीहले जनाएका छन ।



