इथियोपियामा आकस्मिक ज्वालामुखी विस्फोट

तु खबर संवाददाता
२०८२ मंसिर १०, बुधबार १०:३९

काठमाडौं ।उत्तरी इथियोपियामा रहेको लामो समयदेखि निष्क्रिय हाइली गुब्बी ज्वालामुखी आइतबार अचानक विस्फोट भई ठूलो मात्रामा खरानी र धुलो आकाशमा उछालिएको छ, जसको असर छिमेकी देशहरू हुँदै भारत र यूएईसम्म देखिएको छ। एर्टा एले ज्वालामुखी दायरामा पर्ने यो ढाल–ज्वालामुखीले करिब १२,००० वर्षपछि पहिलोपटक गतिविधि देखाएको हो। फ्रान्सको टुलुस भीएसीसी अनुसार स्थानीय समय ११:३० बजे भएको विस्फोटले खरानीका छालहरू लगभग ४५,००० मिटर उचाइसम्म पुगेका थिए।

उपग्रह चित्रहरूमा खरानीको ठूलो बादल रेड सागर पार गर्दै पूर्वतर्फ फैलिएको देखिन्छ भने जमिनबाट खिचिएको दृश्यमा ज्वालामुखी वरपरका गाउँहरू खरानीले पूर्ण रूपमा ढाकिएका छन्। अफार क्षेत्रका बासिन्दाहरूले विस्फोटअघि तीन दिनदेखि धुवाँ देखिए पनि वैज्ञानिक पूर्वानुमान नभएको बताए। अहिलेसम्म मानवीय क्षति नदेखिए पनि स्थानीय अधिकारीहरू गाईवस्तु र चरनभूमिमा ठूलो असर परेको बताउँछन्।

खरानी बादलले अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो अवरोध पुर्‍याएको छ। भारतका राजस्थान, दिल्ली, हरियाणा र पञ्जाबसम्म खरानी पुगेपछि एयर इन्डिया, इन्डिगो, अकासा र केएलएम लगायतका एयरलाइन्सले धेरै उडान रद्द गरेका छन्। भारतको डीजीसीए ले उडान मार्ग परिवर्तन, विमान इन्जिन जाँच र धावनमार्ग निरीक्षण गर्न निर्देशन दिएको छ। आइ एम डी अनुसार खरानी बादल चीनतर्फ सर्दै गएपछि भारतको आकाश क्रमशः सफा हुँदै जानेछ।

अफार क्षेत्रका केही भागमा कम्पन र हल्का भूकम्प महसुस गरिएको छ। स्थानीय प्रशासनले चरनभूमि खरानीले ढाकिएकाले गोठालाहरूका गाईवस्तु प्रभावित भएको र आर्थिक क्षति बढ्न सक्ने बताएको छ। एर्टा एले क्षेत्र आफै सक्रिय रिफ्ट भ्यालीको भाग भएकाले यहाँका ज्वालामुखीहरू भूगर्भीय रूपमा संवेदनशील मानिन्छन्।