खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ दर्ता
काठमाडौँ । खगेन्द्र सुनारको नेतृत्वमा गठन भएको हाम्रो पार्टी नेपाल औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। कात्तिक १८ गते दर्ताका लागि निवेदन परेको उक्त दललाई आयोगले आइतबार मान्यता प्रदान गरेको हो।
सोमबार मध्याह्न बाजागाजासहित आयोग पुगेका अध्यक्ष सुनार तथा अन्य नेता–कार्यकर्ताले दल दर्ताको प्रमाणपत्र बुझेका छन्। आयोगले हाम्रो पार्टी नेपाललाई दर्ता नम्बर २१६ प्रदान गरेको छ।
प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष सुनारले आफू आगामी निर्वाचनमा कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरे।
सुनारले दलले छोटो समयमै व्यापक समर्थन जुटाउने दाबी गर्दै आगामी निर्वाचनबाटै हाम्रो पार्टी नेपाल सरकारको नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरे।
दलले चुनाव चिह्नका रूपमा गोलो घेराभित्र ‘राम्रो जनाउने लाइक’ चिह्न निर्धारण गरेको छ।



