बढ्दो प्लास्टिक प्रदूषण : संकटमा पृथ्वी

रमेश फुल्लेल
२०८२ मंसिर ६, शनिबार ०९:२०

नेपालमा २०७२ सालमा सरकारले ३० देखि ४० माइक्रोनका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। तर, आज एक दशक बितिसक्दा पनि सो निर्णय कागजमै सीमित छ। बजार, सडक, खोला, नाला, बगैँचा, पार्कदेखि पर्यटकीय स्थलसम्म यत्रतत्र प्लास्टिकका रङ्गीन झोला र बोतलका थुप्राहरू देखिन्छन्। यस्तो दृष्यले नेपाल, विशेषगरी काठमाडौं उपत्यकाको सुन्दरतामा दाग मात्र लगाएको छैन, मानव स्वास्थ्य र पारिस्थितिक प्रणाली दुबैलाई गम्भीर जोखिममा पुर्‍याइरहेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरसमेत समेट्ने उपत्यका नेपालको सबैभन्दा जनघनत्व भएको क्षेत्र हो। यहाँ लाखौँ मानिसहरू बसोबास गर्छन्, जसबाट उत्पन्न हुने फोहोरको मात्रा पनि अत्यन्त बढी छ। विभिन्न अध्ययन अनुसार, काठमाडौं उपत्यकाबाट दैनिक १,२०० टनभन्दा बढी फोहोर उत्पादन हुन्छ, जसको करिब २५ प्रतिशत हिस्सा प्लास्टिकजन्य फोहोर हुन्छ। यी फोहोरमध्ये धेरै भाग उचित व्यवस्थापन बिना नै सडकछेउ, खोलानाला र खाली जग्गामा फालिन्छ। बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला र मनोहरा खोलामा हाल पनि ठूलो परिमाणमा प्लास्टिकका झोला, बोतल र फोहोरका थुप्रा देखिन्छन्। वर्षात्को समयमा यी फोहोरहरू बगेर नदीको बहाव रोक्ने मात्र होइन, अन्ततः तिनै खोलानालाबाट जलस्रोतहरूमा मिसिन्छन् र भूमिगत पानीलाई पनि दूषित बनाउँछन्।

प्लास्टिक कुहिन निकै लामो समय लाग्ने पदार्थ हो। वैज्ञानिक तथ्याङ्क अनुसार, मिनरल वाटरको बोतललाई पूर्ण रूपमा नष्ट हुन करिब ४५० वर्ष लाग्छ भने पातलो पोलिथिन झोलालाई कुहिन २०० देखि १,००० वर्षसम्म लाग्छ। यसबीचमा, यी प्लास्टिकहरू स–साना कणहरू (माइक्रोप्लास्टिक) मा परिणत भई हावामा, पानीमा र माटोमा मिसिन्छन्। यी माइक्रोप्लास्टिक कणहरू मानिस र जनावर दुबैको शरीरमा प्रवेश गर्छन्, जसले श्वासप्रश्वाससम्बन्धी समस्या, हृदयघात, क्यान्सर र प्रजननसम्बन्धी रोगहरू निम्त्याउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हरेक वर्ष प्लास्टिक प्रदूषणका कारण मानव स्वास्थ्यसँग सम्बन्धित करिब १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगिरहेको छ। सन् १९५० मा विश्वभर प्लास्टिक उत्पादन २ मेगाटन मात्र थियो भने सन् २०६० सम्ममा यो १,२०० मेगाटन पुग्ने अनुमान छ।

प्लास्टिक प्रदूषण केवल शहरमा सीमित समस्या होइन। यसले जलीय पारिस्थितिक प्रणालीलाई गम्भीर क्षति पुर्‍याइरहेको छ। दक्षिणपूर्वी एसियाका १० ठूला नदीहरूबाट समुद्रमा पुग्ने प्लास्टिक फोहोरले विश्वका महासागरहरूलाई अत्यधिक प्रदूषित बनाइरहेका छन्। नेपालका खोलानालाबाट बग्ने फोहोर पनि अन्ततः खोलानाला र नदीहरु हुँदै बंगालको खाडीमा पुग्छ, जसले समुद्री प्राणीहरूको जीवनमा प्रत्यक्ष असर पार्छ। प्लास्टिकका टुक्रा माछा, कछुवा, र अन्य सामुन्द्रीक जीवहरूले खाना ठानेर खान्छन्। यसले तिनीहरूको पेटमा फोहोर जम्मा भई मृत्यु निम्त्याउँछ। वैज्ञानिकहरूका अनुसार सन् २०५० सम्ममा समुद्रमा माछा को तौल भन्दा बढी प्लास्टिकको तौल हुनेछ।

नेपालमा प्लास्टिक प्रदूषण बढ्नुको प्रमुख कारण सर्बसाधारणको मनोवृत्ति हो। “जहाँ पायो त्यहीँ फाल्ने” बानीले यो समस्या चरममा पुर्‍याएको छ। सडकमा हिँड्दा, खाना खाएपछि वा पसलमा किनमेल गरेपछि मानिसहरू सानो सजिलोका लागि प्लास्टिक प्रयोग गर्छन् र तुरुन्तै फालिदिन्छन्। उपत्यकाका सडक, बगैँचा, पार्क, पर्यटकीय स्थल र मन्दिरपरिसर सबै फोहोरले ढाकिएका छन्। यो प्रवृत्तिले काठमाडौंलाई “फोहोरको सहर” बन्ने खतरा बढाएको छ। पर्यटकहरू नेपालको प्राकृतिक सुन्दरताका  हेरेर मनोरन्जनको आउँछन्, तर उनीहरूलाई फोहोर र दुर्गन्धले स्वागत गरेको स्पष्ट देखीन्छ। यस्तो स्थिति देशको पर्यटन उद्योग र आर्थीक उन्नतीको लागि पनि नकारात्मक सन्देश हो।

नेपाल सरकारले प्लास्टिक झोला प्रतिबन्धको निर्णय त गरेको छ, तर त्यसको कार्यान्वयन कमजोर छ। धेरै स्थानीय निकायहरूले दीर्घकालीन योजना बनाए पनि त्यसलाई व्यवहारमा उतार्न सकेका छैनन्। बजारमा अझै पनि २० माइक्रोनभन्दा पातलो झोला खुलेआम बिक्री भइरहेका छन्। सरकारले नियम बनाउने मात्र होइन, निगरानी र कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ। प्लास्टिक उत्पादन गर्ने उद्योगहरूमा कर वृद्धि, वैकल्पिक झोला प्रयोग गर्नेहरूलाई प्रोत्साहन, र गैरकानूनी प्लास्टिक उत्पादनकर्तालाई जरिवाना जस्ता कदम आवश्यक छन्। साथै, स्थानीय तहहरूले फोहोर वर्गीकरण प्रणाली लागू गर्नुपर्छ—जैविक, अजैविक र पुनःप्रयोगयोग्य फोहोर छुट्याउने प्रावधान अनिवार्य हुनुपर्छ। यसले पुनःप्रयोग र पुनर्चक्रण उद्योगलाई पनि सघाउँछ।

प्लास्टिक प्रदूषण न्यूनीकरणमा केवल सरकारले मात्र होइन, समुदाय र नागरिक समाजको पनि ठूलो जिम्मेवारी छ। विद्यालयहरूमा वातावरणीय शिक्षा अनिवार्य बनाउनुपर्छ, जसले बालबालिकालाई सानैदेखि फोहोर व्यवस्थापन र पुनःप्रयोगको बानी सिकाउँछ। काठमाडौं उपत्यकामा “प्लास्टिकमुक्त बजार” अभियान सुरु गर्न सकिन्छ, जसअन्तर्गत पसलहरूले कपडाको वा कागज वा पातको झोला प्रयोग गर्नुपर्ने नियम बनाउन सकीन्छ। यसरी सानो परिवर्तनले ठूलो असर पार्न सक्छ।

प्लास्टिकको प्रयोग घटाउन वैकल्पिक उपायहरूको खोजी अत्यावश्यक छ। जूट, कागज, बाँस बीभीन्न बनस्पतीको पातहरु वा कपडाबाट बनेका झोला प्रयोग गर्न पुनःप्रयोग योग्य वस्तुहरूलाई प्राथमिकता दिनुपर्छ। यसबाहेक, प्लास्टिक फोहोरबाट ऊर्जाको उत्पादन गर्ने प्रविधि पनि नेपालमा लागू गर्न सकिन्छ। केही देशहरूले थर्मल कन्वर्जन प्रविधिबाट प्लास्टिक फोहोरलाई इन्धनमा रूपान्तरण गर्न थालेका छन्, जसले ऊर्जा समस्या समाधानका साथै फोहोर घटाउन मद्दत गर्छ।

प्लास्टिकले मानव स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। प्लास्टिक जलाउँदा डाइअक्सिन र फुरानजस्ता विषालु ग्यास निस्कन्छ, जसले श्वासप्रश्वास, छाला र आँखामा समस्या ल्याउँछ। माइक्रोप्लास्टिक र तिनबाट लीक हुने रासायनिक पदार्थहरूले हार्मोन असन्तुलन, प्रजनन समस्या, मस्तिष्क विकासमा असर र क्यान्सरको जोखिम बढाउँछ। काठमाडौं उपत्यकाका ८० प्रतिशतभन्दा बढी मानिसहरू दैनिक रूपमा यस्ता प्रदूषित हावामा सास फेर्न बाध्य छन्। विशेष गरी बालबालिका र वृद्धवृद्धा जस्ता संवेदनशील वर्गमा यसको असर झन् गम्भीर हुन्छ।

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अल्पकालीन सफाइ अभियान मात्र पर्याप्त छैन। दीर्घकालीन रणनीति आवश्यक छ। यसका लागि प्लास्टिक उत्पादन घटाउने र पुनःडिजाइन गर्ने नीति ल्याइनुपर्छ, फोहोर व्यवस्थापनमा प्रविधि र लगानी बढाउनुपर्छ, स्थानीय निकाय, निजी क्षेत्र र समुदायबीच साझेदारी बढाउनुपर्छ, कानूनी कारबाही कडाइका साथ कार्यान्वयन गर्नुपर्छ र जनस्तरमा निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्छ।

प्लास्टिकको समस्या केवल वातावरणीय होइन, अस्तित्वको संकट हो। हामी सबैले मिलेर यसलाई रोक्न सक्नेछौं—यदि हाम्रा साना–साना व्यवहारमा परिवर्तन ल्यायौं भने। प्लास्टिक प्रयोग नगर्ने, जहाँ पायो त्यहीँ फोहोर नफाल्ने, फोहोर छुट्याएर फाल्ने, पुनःप्रयोग र पुनर्चक्रण गर्ने, अनि अरूलाई पनि सचेत गराउने—यी साना तर शक्तिशाली कदमहरूले ठूलो परिवर्तन ल्याउन सक्छ।

नेपाल सुन्दर छ, र त्यस सुन्दरताको रक्षा हाम्रो हातमा छ। काठमाडौं उपत्यका केवल हाम्रो बसोबासको ठाउँ होइन, हाम्रो पहिचान हो। त्यसैले अब समय आएको छ—“प्लास्टिकमुक्त उपत्यका” निर्माणको। यदि आज हामीले कदम चाल्यौं भने, भोलि हाम्रो सन्तानले सफा, हरियो र स्वस्थ काठमाडौं देख्नेछन्। तर यदि मौन बस्यौं भने, हाम्रो घर पृथ्वीलाई हामी नै विनाशतिर धकेल्नेछौं।