ट्रम्प भेनेजुएला सैन्य हस्तक्षेपमा निर्णयको नजिक

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार ०९:२०

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सम्भावित सैन्य हस्तक्षेपबारे आफ्नो निर्णय अब धेरै नजिक पुगेको संकेत दिएका छन्। पछिल्ला दिनहरूमा उनलाई भेनेजुएलामा सैन्य अपरेशनका विस्तृत विकल्पहरूबारे उच्च–स्तरीय ब्रीफिङहरू दिइँदै आएको छ, जहाँ अमेरिकी सेनाले यस क्षेत्रमै ठूलो सैन्य शक्ति आक्रामक रूपमा प्रदर्शन गरिरहेको छ।

स्रोतका अनुसार ट्रम्पलाई राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गर्न सकिने विभिन्न विकल्प—लक्षित हवाई हमलादेखि प्रत्यक्ष शासन परिवर्तन प्रयाससम्म—बारे जानकारी दिइएको थियो। ‘अपरेसन दक्षिणी भाला नामक योजनाअन्तर्गत अमेरिकाले एक दर्जनभन्दा बढी युद्धपोत, करिब १५,००० सैनिक, र पोर्टो रिकोमा १० एफ-३५ लडाकु विमान तैनाथ गरेको छ।ट्रम्पले आप्रवासन नियन्त्रण तथा लागूपदार्थ तस्करी ‘रोकथाम अभियानका क्रममा आवश्यक कदम चाल्न आफू नजिक पुगेको बताएका छन्। रक्षा सचिव पीट हेगसेथ, संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, र विदेश सचिव मार्को रुबियोसहितका वरिष्ठ अधिकारीहरूले राष्ट्रपति समक्ष लगातार दुई दिन विस्तृत ब्रीफिङ दिएका थिए।

राष्ट्रपतिलाई भेनेजुएलाका सरकारी तथा सैन्य संरचना, कोकिन उत्पादन केन्द्र, तथा तस्करी मार्गहरूमा लक्षित हमलाका विकल्पहरू प्रस्तुत गरिएको थियो। यद्यपि, ट्रम्पले बैठकहरूमा अमेरिकी सेनालाई जोखिममा पार्न सक्ने निर्णयहरूमा सतर्कता देखाएको स्रोतहरूले बताएका छन्।अर्कातिर, अमेरिकी सेनाले हालै क्यारेबियन क्षेत्रमा कम्तीमा २० वटा समुद्री तस्करी रोकथाम अपरेसन सञ्चालन गरिसकेको छ। विश्लेषकहरू भन्छन्—यदि ट्रम्पले मादुरोलाई हटाउने कदम चाल्ने हो भने त्यसले अमेरिकी प्रशासनलाई दशकौँदेखि असफल हुँदै आएको ‘भेनेजुएला परिवर्तन’ अभियानमा ठूलो राजनीतिक जीत दिलाउन सक्छ। तर त्यस्तै कदमले अमेरिकालाई लामो, अनिश्चित तथा महँगो क्षेत्रीय द्वन्द्वतर्फ धकेल्ने जोखिम पनि उत्तिकै छ।

सीएनएन समाचारका अनुसार ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विपक्षी नेता जुआन गुआइडोलाई भेनेजुएलाको वैध नेता मान्याता दिएका थिए, तर २०१९ को असफल कू प्रयासपछि गुआइडो सत्तामा आइएनन्। अहिले अमेरिकी नौसेनाको ‘सबैभन्दा घातक लडाइँ प्लेटफर्म समेत भनिने यस क्षेत्रमा पुगेपछि सैन्य तनाव अझ बढेको छ।

यसबीच, शुक्रवार काराकासबाट प्रतिक्रिया दिँदै राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हस्तक्षेप ‘अर्को गाजा, नयाँ अफगानिस्तान वा भियतनाम दोहोरिएजस्तो विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले अमेरिकालाई लक्षित गर्दै भने,दक्षिण अमेरिका र क्यारेबियनमा बम, हत्या र युद्ध ल्याउने आदेश दिने पागल हात रोक्नुहोस्। युद्ध बन्द गर्नुहोस्। हामी युद्ध चाहँदैनौँ।”अमेरिकी राजनीतिक विश्लेषकहरूको भनाइमा ट्रम्पको यस्तो कदमले उनको समर्थक आधारमै असन्तोष सिर्जना गर्न सक्छ, किनकि अमेरिकी जनताले उनीलाई विदेशी युद्धमा नफस्ने वाचासहित समर्थन गरेका थिए।यसरी, भेनेजुएलाका लागि ट्रम्पको ‘मन बनेको’ संकेतले क्षेत्रीय तनाव मात्रै होइन, अमेरिकी घरेलु राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ।