दिल्लीमा भएको कार बम विस्फोटमा ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौं । दिल्लीको ऐतिहासिक लाल किल्ला नजिक सोमबार साँझ भएको कार बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन्। साँझ करिब ६:५५ बजे रेड फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको हुण्डाई i20 कारमा विस्फोट भएको थियो।विस्फोटको तीव्रता यति उच्च थियो कि वरपरका घर र पसलका झ्यालका सिसा फुटेका र भवनहरू काँपिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार गाडी केही समयदेखि त्यहीँ पार्क गरिएको थियो। विस्फोटपछि आगलागी भई वरपरका अन्य गाडीहरू पनि क्षतिग्रस्त भएका थिए।
केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाको विस्तृत अनुसन्धानका लागि एनएसजी, एनआईए र दिल्ली प्रहरीको संयुक्त टोली परिचालन गरिएको जानकारी दिएका छन्। प्रहरीले हालसम्म कारका पूर्व मालिक दुई जनालाई नियन्त्रणमा लिएको छ।प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री शाहलाई घटनाबारे जानकारी दिइएको छ। शाहले मंगलबार बिहान उच्चस्तरीय बैठक बोलाएका छन्। यसैबीच, दिल्लीका सबै प्रमुख रेलवे स्टेशन र सार्वजनिक स्थानमा सुरक्षा कडा पारिएको छ।
हीन्दुस्तान टाइम्सका अनुसार सम्भावित सम्बन्ध फरीदाबादमा बरामद विस्फोटक पदार्थ र कश्मीरमा आधारित एक आतंकवादी मोड्युलसँग हुन सक्ने प्रारम्भिक शंका गरिएको छ।सुरक्षाका कारण लाल किल्ला आगामी तीन दिनका लागि बन्द गरिएको छ भने नेताजी सुभाष मार्गमा आवागमन अर्को सूचना नभएसम्म रोकिएको छ।
अनुसन्धान अझै जारी छ।
