ममदानीको विजयले अमेरिकी राजनीतिमा नयाँ अध्यायको संकेत
काठमाडौं ।जोहरान ममदानीको अप्रत्याशित मेयर विजयले अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहस जन्माएको छ। ममदानीले आफ्नो विजयको श्रेय “न्यूयोर्कका श्रमिक जनता” लाई दिँदै भने, “गोदाममा बक्स उठाउने, डेलिभरी बाइक चलाउने, भान्सामा आगोले दागिएका यी हातहरू शक्ति समात्न नदिइएका थिए, तर अहिले तिनै हातहरूले परिवर्तन सम्भव बनाएका छन्।”
यो विजयसँगै मिडिया र राजनीतिक विश्लेषकहरूबीच गहिरो आत्मसमीक्षाको आवश्यकता देखिएको छ। समाचार आउटलेटहरूलाई अब प्रश्न उठेको छ — के उनीहरूले सबै मतदाताको आवाजलाई प्रतिनिधित्व गरेका छन्? के ममदानीले उल्लेख गरेका श्रमिक, प्रवासी र सामान्य नागरिकहरूका विचारहरू मिडिया संवादमा पर्याप्त स्थान पाएका छन्?पत्रकारिता विज्ञ जे रोजेनले उल्लेख गरेझैँ, “नागरिक एजेन्डा” समाचार कभरेजमा लागू हुन आवश्यक छ। उनले जोड दिए, “मिडियाले राजनीतिक एजेन्डा होइन, नागरिकको वास्तविक चासोबारे प्रश्न गर्नुपर्छ।”
ममदानीको सफलतामा उनको सन्देशको स्थिरता, स्थानीय मुद्दामा केन्द्रित अभियान, र जनतासँग प्रत्यक्ष संवादले निर्णायक भूमिका खेलेको टिप्पणीहरू आएका छन्। “मिडियामा बढी होइन, मानिसबीचमा जानु नै उनको सफलता हो,” एनवाई१ का एरोल लुइसले भने।पत्रिका द नेसन का सम्पादकद्वय क्याट्रिना भ्यान्डन ह्युवेल र जोन निकोल्सले ममदानीको विजयलाई “न्यूयोर्क शहर मात्र होइन, राष्ट्रको राजनीतिक दिशालाई परिवर्तन गर्ने सम्भावना” भएको बताएका छन्।
सिएनएन समाचारका अनुसार उनको विजय समारोहमा ४०० भन्दा बढी पत्रकारले सहभागिता जनाए।उता फक्स न्युज लगायतका दक्षिणपन्थी मिडियामा ममदानीको उदयप्रति असहजता देखिएको छ। उनीहरूले यसलाई “समाजवादको उदय” भन्दै डर फैलाउने प्रयास गरेका छन्। तर, विश्लेषकहरूले भने यो परिवर्तनलाई “श्रमिक वर्गको पुनरुत्थान” का रूपमा व्याख्या गरेका छन्।
ममदानीको अभियानका प्रारम्भिक चरणमा पत्रकारहरूको रुचि न्यून देखिएको भए पनि अन्तिम चरणमा उनी अन्तर्राष्ट्रिय मिडिया आकर्षणको केन्द्र बने।
अन्ततः, यो निर्वाचनले के स्पष्ट देखायो भने — जब मिडिया र राजनीति दुवैले जनताको वास्तविक आवाज सुन्छन्, तब लोकतन्त्रको दिशा बदलिन सक्छ। ममदानीको शब्दमा, “संसारका सबैभन्दा शक्तिशाली संस्थाहरूले हामीलाई रोक्न खोज्छन्, तर जनता उठे भने शहर मात्र होइन, राष्ट्र रूपान्तरण हुन्छ।”
