काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा विस्तार
काठमाडौं । अब राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थलका साथै संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार यसअघि स्थापन भएका स्थानमा मर्मतसम्भार, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ नयाँ स्थानमा वाइफाइ जडान गरिएको छ। अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता अभिवृद्धिसहित निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ।
त्यस्तै, काठमाडौंको ठूलोभर्याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता विस्तारको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा पनि नयाँ स्थापनाको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
निःशुल्क वाइफाइ सेवालाई निरन्तर र दिगो बनाउन सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीहरूसँग सम्झौता गरेका छन्। नेपाल टेलिकम, वर्ल्डलिंक र भायनेट कम्पनीले सहकार्यमा निःशुल्क वाइफाइ स्थापनाको काम अघि बढाएका छन्। सञ्चारमन्त्री खरेलको सक्रियतामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीहरूसँगको समन्वयमा वाइफाइ पहुँच विस्तार गरेको हो।
