सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

तु खबर संवाददाता
२०८२ कार्तिक ४, मंगलवार १५:५२

काठमाडौं। जापानको संसदले मंगलबार सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो।

आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी सम्हालेकी हुन् । ताकाइची अक्टोबरको सुरुमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता चुनिएकी थिइन्। उनको विजयले विवादले ग्रसित एलडीपीको राजनीतिक झुकावलाई थप दक्षिणपन्थी बनाएको राजनीतिज्ञहरुको धारणा रहेको छ ।

संसद्का दुवै सदनबाट प्रधानमन्त्रीमा निर्वाचित भए पनि अब उनले १२ करोड जापानी जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ। वस्तुहरूको उच्च मूल्य नियन्त्रण गर्नु उनको पहिलो चुनौती हुनेछ। जापानको मुख्य खाना चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ।