त्रिवि कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा फ्लडलाइट टावर स्थापना सम्पन्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा फ्लडलाइटका सबै ६ वटा टावर ठड्याइएको छ। निर्माण व्यवसायीले आइतबार मात्रै दुई वटा पोल स्थापनासँगै अब ४५ मिटर र ६० मिटर उचाइका सबै पोलहरू निर्माण सम्पन्न भएको हो।
रङ्गशालामा ३०–३० टन तौलका हाइमास्ट लाइटका ६ ओटा टावर जडान गरिएको छ। तीमध्ये पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ भने अब बाँकी दुई पोलमा लाइट जडान गर्ने काम सुरु हुने परियोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए।
यस रङ्गशाला निर्माणका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेका थिए। ओली नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासमा प्राथमिकता दिँदै उल्लेखनीय प्रगति गरेका कारण यो परियोजना अघि बढेको हो।
मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशाला गुरु योजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता परियोजना घोषणा गरेको थियो। गुरु योजनाअनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिई दोस्रो चरणको निर्माण कार्य अघि बढाउने निर्णय पनि गरिएको छ।
यससँगै कीर्तिपुर क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको खेल आयोजना गर्न थप नजिकिएको मानिएको छ।
