कांग्रेसमा ५३ प्रतिशत प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको पहल

तु खबर संवाददाता
२०८२ आश्विन २९, बुधबार १६:१०
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन बुझाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको निवेदन बुझाइएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा चलाइएको हस्ताक्षर अभियानअन्तर्गत २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरेका थिए। अभियानका नेता गुरुराज घिमिरेका अनुसार कुल प्रतिनिधिमध्ये ५३ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका हुन्।

नेता घिमिरेले हस्ताक्षर बुझाउने क्रममा भने, “अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आवश्यक छ।”

पार्टीको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र त्यस्तो महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।

मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनको मागसहित निवेदन दिइएको एक नेताले बताए।

हस्ताक्षरको फाइल बुझिसकेपछि कार्यवाहक सभापति खड्काले कुनै विस्तृत प्रतिक्रिया दिएनन्। उनले केवल “जय नेपाल” भन्दै निवेदन ग्रहण गरेका थिए।

यसअघि जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।