मेडागास्करमा सेनाको सत्ता कब्जा, राष्ट्रपति राजोएलिना देशबाट पलायन

काठमाडौँ । मेडागास्करमा जारी जनआन्दोलन र राजनीतिक संकटबीच सेनाले सत्ता हातमा लिएको छ। सेनाका कमाण्डर कर्नल माइकल रान्ड्रियानिरिनाले मंगलबार राष्ट्रिय रेडियोमार्फत घोषणा गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनालाई सांसदहरूले महाभियोग लगाएपछि र जनआन्दोलन उत्कर्षमा पुगेपछि सेनाले शासन जिम्मा लिएको जानकारी दिएका हुन्।
सेनाले विज्ञप्ति जारी गर्दै सिनेट, उच्च संवैधानिक अदालत, स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग, न्यायको उच्च न्यायालय र मानव अधिकार तथा कानूनको शासनका लागि उच्च परिषद् निलम्बन गरेको घोषणा गरेको छ।राष्ट्रपति राजोएलिनाले सेनाको कदमको कडा विरोध गर्दै यसलाई “अवैध सत्ता कब्जा” भनेकी छन्। सन् २००९ मा कूको माध्यमबाट सत्तामा आएकी राजोएलिनाले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै आफू ज्यान जोखिममा परेकाले सुरक्षित स्थानमा सरेको बताएकी थिइन्। विभिन्न स्रोतका अनुसार उनी फ्रान्सेली सैन्य विमानमार्फत देशबाट पलायन गरेकी छन्।
मेडागास्करमा पछिल्ला हप्ताहरूमा युवाहरूको अगुवाइमा व्यापक विरोध प्रदर्शन भइरहेका थिए। सेप्टेम्बर २५ बाट सुरु भएका आन्दोलनहरू प्रारम्भमा पानी र बिजुलीको अभावका विरोधमा थिए, तर पछि भ्रष्टाचार, खराब शासन र जनसेवामा बेवास्ता विरुद्ध व्यापक जनआन्दोलनमा परिणत भएका हुन्।राजधानी अन्टानानारिभोको १३ मे स्क्वायरमा हजारौँ प्रदर्शनकारीले मंगलबार पनि र्याली गरेका थिए। प्रदर्शनकारीहरूले राजोएलिनालाई “फ्रान्सेली कठपुतली” भन्दै निन्दा गरेका थिए। सेनाको सत्ता कब्जाको समाचार सार्वजनिक भएपछि भीडले उत्सव मनाएको जनाइएको छ।
कर्नल रान्ड्रियानिरिनाले भने, “हामीले शक्ति लिएका छौं। दुई वर्षभित्र चुनाव गराएर नागरिक प्रशासनलाई सत्ताको हस्तान्तरण गरिनेछ,” भनेर संक्रमणकालीन सरकार गठनको संकेत दिएका छन्।मेडागास्करमा हाल करिब ३ करोड जनसंख्या छ, जसको तीन चौथाइ गरिबीमा बाँचिरहेका छन्। विश्व बैंकका अनुसार १९६० देखि २०२० सम्म देशको प्रति व्यक्ति जीडीपी ४५ प्रतिशतले घटेको छ।राजोएलिनाको पतनले हालै नेपाल, मोरक्को लगायतका देशहरूमा देखिएका जनआन्दोलनसँग समानता दर्शाएको विश्लेषकहरूको भनाइ छ।