मन्त्री कुलमान घिसिङ र कोरियाली राजदूत पार्क ताइयोङबीच भेटवार्ता

तु खबर संवाददाता
२०८२ आश्विन २७, सोमबार १७:३६

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र कोरियाबीचको दीर्घकालीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन कोरिया प्रतिबद्ध रहेको बताए ।

मन्त्री घिसिङले नेपालमा ऊर्जा सन्तुलन कायम गर्न र विद्युत् निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत् आयोजना अपरिहार्य रहेको बताउँदै पाँच सय मेगावाटभन्दा ठूला आयोजनामा कोरियाको सरकारी वा निजी क्षेत्रको लगानी स्वागतयोग्य हुने बताए ।उनले कोरियामा सफल रहेको हरित हाइड्रोजन प्रविधिलाई नेपालमा नमुना परियोजनाको रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि छलफल गरेका थिए ।

मन्त्री घिसिङले रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि गर्न, कोरिया प्रस्थानपूर्व सीप विकास तालिम र फर्किएपछि सीप प्रयोगमार्फत उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरे ।त्यसैगरी उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइन जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन एक्जिम बैंकमार्फत प्राप्त हुने सहयोग छिट्टो टुंग्याउन, साथै रेलमार्ग निर्माण, सञ्चालन र मर्मतसम्भारमा कोरियाली सहयोगको अपेक्षा व्यक्त गरे ।

भेटका क्रममा राजदूत पार्कले कोरियन सरकारी कम्पनीको लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी गराए । उनका अनुसार आयोजनाको निर्माण कार्य झण्डै ७० प्रतिशत सम्पन्न भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ ।राजदूत पार्कले आयोजनाको सफलताका लागि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सुरुङ छिचोल्ने समारोहमा मन्त्री घिसिङको सहभागिता आग्रह गरे ।

भेटवार्तामा दुबै पक्षले आगामी दिनमा ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा नेपाल–कोरिया सहकार्य अझै विस्तार गर्ने सहमति जनाएका छन् ।