शेयर बजारमा सुधार, लगानीकर्तामा पुनः उत्साह — नेप्से ४४ अंकले उकालो


काठमाडौँ । बजारमा आएको सुधारसँगै लगानीकर्ताहरूमा पुनः उत्साह देखिएको छ।अघिल्लो कारोबार दिनको ठूलो गिरावटपछि धेरै लगानीकर्ताको पुँजी बालुवामा पानीझैँ बगेको थियो । तर, नियामक निकायहरू — अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड — सक्रिय बनेपछि बजारमा सकारात्मक सन्देश पुगेको हो ।
लगानीकर्ताहरूले आइतबार साँझ धितोपत्र बोर्डको दैलोमा पुगेर बजार सुधारका माग गरेका थिए । बोर्डले बजार स्थिरताका लागि कार्यदलले तयार पारेको ९ बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएपछि सोमबार बजारमा हरियाली देखिएको हो ।विश्लेषकहरूका अनुसार नियामक निकायहरूको सक्रियता र नीति स्पष्टताले बजार विस्तारै लयमा फर्किने संकेत दिएको छ । तथापि, राजनीतिक अनिश्चितता अझै पनि बजारका लागि मुख्य चुनौतीका रूपमा रहेको छ ।
जेन जी आन्दोलनपछि बनेको सरकारले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको र ठूला दलबीच सहमति नजुटेको अवस्थाले लगानीकर्तामा अनिश्चितता बढाएको छ । बजारमा दीर्घकालीन स्थायित्वका लागि राजनीतिक स्थिरता अपरिहार्य मानिएको छ ।केन्द्रिय बैंकले बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जामा सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने निर्णयहरू गरेको भए पनि त्यसको प्रभाव तत्काल बजारमा देखिन नसकेको लगानीकर्ताहरूको बुझाइ छ ।
विशेषज्ञहरूका अनुसार धेरै सर्वसाधारण लगानीकर्ताले कम्पनीको मौलिक अवस्था र नाफा क्षमताभन्दा पनि बजारको हल्ला र सामाजिक सञ्जालको ट्रेन्डको भरमा लगानी गर्ने प्रवृत्ति बढेको छ । जसले गर्दा बजारमा अतिमूल्यांकन वा कम मूल्यांकनको अवस्था सिर्जना भइरहेको छ ।सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.२५ अंकले बढेर २,५४७.६० बिन्दुमा पुगेको छ । यस दिन ३३० कम्पनीका ९९ लाख ४ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।
सबै १३ उपसूचक हरियालीमा रहँदा वाणिज्य बैंक समूह ०.२८ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशत, फाइनान्स समूह १.०२ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले उकालो लागेका छन् ।आजको कारोबारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । बजार विश्लेषकहरूका अनुसार नियामक सक्रियता र लगानीकर्ताको आत्मविश्वास कायम रहँदा बजार निकट भविष्यमै थप सुधारको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ ।