मर्मतपछि मेलम्ची पुनः सञ्चालन, उपत्यकामा पानी वितरण सुरु

काठमाडौं । वर्षातका कारण लामो समय बन्द रहेको मेलम्ची खानेपानी आयोजनाबाट पुनः काठमाडौंमा पानी आपूर्ति सुरु गरिएको छ।
गत वर्ष असार १० गतेदेखि वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोले आयोजनामा क्षति पुर्याएपछि आपूर्ति रोकिएको थियो। मर्मतसम्भार सम्पन्न भएपछि अहिले सुन्दरीजलस्थित पानी संकलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगिरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिएका छन्।
काठमाडौं उपत्यकामा दैनिक झन्डै ४३ करोड लिटर पानीको माग रहेको छ। मेलम्ची बन्द रहँदा उपत्यकामा विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको थियो।
मेलम्चीको पानी पुनः सुन्दरीजल आइपुगेसँगै काठमाडौं उपत्यकामा वितरण कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताएका छन्।
उनका अनुसार मेलम्चीको नियमित आपूर्तिले उपत्यकावासीको खानेपानी अभाव केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।