ट्रम्प इजरायलमा, २० बन्धक र २ हजार कैदी आज रिहा हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान गाजामा रहेका २० जना जीवित इजरायली बन्धकहरूको रिहाइ अघि इजरायल पुग्दै छन्। अमेरिकी मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत बन्धकहरूको पहिलो चरणको रूपमा इजरायलका झण्डै २,००० प्यालेस्टिनी बन्दीहरूलाई समेत रिहा गरिने तयारी भइरहेको छ।ट्रम्पले इजरायलको संसद (नेसेट) लाई सम्बोधन गर्नेछन् र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा बन्धक परिवारहरूसँग भेट्ने कार्यक्रम छ। त्यसपछि उनी इजिप्ट प्रस्थान गरी गाजाको भविष्यबारे हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूसँग सहभागी हुनेछन्।
सीएनएनका अनुसार सोमबार बिहान स्थानीय समय अनुसार ८ बजेबाट तीन समूहमा बन्धकहरूलाई फरक–फरक स्थानबाट रिहा गरिनेछ। बन्धकहरूलाई रेडक्रसको निगरानीमा सुरक्षित रूपमा इजरायल भित्र्याइनेछ।मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार बन्धकहरू गम्भीर मनोवैज्ञानिक आघातका अवस्थाबाट गुज्रिरहेका हुन सक्छन्। क्लिनिकल मनोवैज्ञानिक डा. जेफ गार्डेरेले भने, “यी व्यक्तिहरू महिनौँ अन्धकार सुरुङमा रहेका थिए, ताजा हावासम्म पाएका थिएनन्। उनीहरूको उपचार वर्षौं लम्बिन सक्छ।”
पूर्व अमेरिकी मध्यपूर्व दूत ब्रेट म्याकगुर्कले भने, “बन्धकहरूलाई अहिले पनि थाहा नहुन सक्छ कि उनीहरू मुक्त हुन लागेका छन्। उनीहरू सुरुङबाट बाहिर निकालिँदासम्म र रेड क्रसका अधिकारीहरू भेटिनासम्म केही निश्चित हुँदैन।”यसैबीच, इजरायल-हमास युद्धविराम सुरु भएदेखि गाजामा मृत्यु हुनेको संख्या ३०० नाघेको छ। संयुक्त राष्ट्रका अनुसार, इजरायली आक्रमणका कारण ४ लाख ३० हजारभन्दा बढी घरहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन् र करिब १० हजार व्यक्ति अझै भग्नावशेषमुनि फँसेका हुनसक्ने अनुमान छ।
संयुक्त राष्ट्रले गाजामा हालसम्म १ लाख ९० हजार मेट्रिक टन सहयोगी सामग्री पुगिसकेको र यो “वास्तविक प्रगतिको सुरुवात” मात्रै भएको जनाएको छ।तेल अवीभमा “होस्टेज स्क्वायर” मा बन्धकहरूको अपेक्षित रिहाइ अघि ठूलो जनसभा र प्रत्यक्ष प्रसारणको तयारी भइरहेको छ। यसबीच, नेतन्याहुले सोमबारको रिहाइलाई इजरायलको लागि “नयाँ युगको सुरुवात” भन्दै “निको पार्ने र पुनर्निर्माणको बाटो” को रूपमा व्याख्या गरेका छन्।
