ट्रम्पद्वारा चीनका सामानमा थप १००% ट्यारिफ घोषणा,व्यापार युद्ध फेरि तीव्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा हाल लागिरहेको ३० प्रतिशत ट्यारिफ माथि थप १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा त्यसअघि नै यो निर्णय लागू भइसकेको ट्रम्पले जनाएका छन्।
काठमाडौं ।ट्रम्पले शुक्रबार ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “संयुक्त राज्य अमेरिकाले चीनमा १००% शुल्क लगाउनेछ, जुन उनीहरूले हाल तिरिरहेका छन्। नोभेम्बर १ मा हामी कुनै पनि र सबै महत्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रणहरू लागू गर्नेछौं।”
उनको यो घोषणा दुई देशबीच महिनौं अघिको व्यापार युद्धविरामपछि पुनः तनाव बढाउने संकेतका रूपमा लिइएको छ। लगानीकर्ताहरूले यसलाई “वसन्त डेजा भु”को रूपमा व्याख्या गरेका छन् — जब अप्रत्याशित रूपमा चिनियाँ सामानमा ट्यारिफ १४५ प्रतिशतसम्म पुगेको थियो। यो घोषणापछि अमेरिकी शेयर बजारमा गिरावट आएको छ ।
ट्रम्पको कदम चीनले इलेक्ट्रोनिक्स उत्पादनमा आवश्यक ‘दुर्लभ पृथ्वी’ सामग्रीको निर्यात नियन्त्रण कडाइ गरेपछि आएको हो। यसबीच ट्रम्पले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा तय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक पनि रद्द गरेका छन्।
अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्। यद्यपि मेक्सिकोले हालै अमेरिकी आयातको शीर्ष स्रोतका रूपमा चीनलाई प्रतिस्थापन गरेको भए पनि, अमेरिका अझै पनि सयौं अर्ब डलरका चिनियाँ सामानहरूमा निर्भर छ — विशेषतः इलेक्ट्रोनिक्स, कपडा र फर्निचर क्षेत्रमा।
ट्रम्पले प्राविधिक कम्पनीहरूलाई उत्पादन स्वदेशमै ल्याउन दबाब दिँदै आएका छन्। यद्यपि, अमेरिकी उद्योगहरूले हालै सयौं अर्ब डलरको लगानी घोषणा गरेपछि उनले आफ्नो दृष्टिकोण केही नरम पारेका छन्।
गत वर्ष अमेरिकाले चीनबाट आउने सामानमा १४५% ट्यारिफ लगाएको केही समयपछि ट्रम्प प्रशासनले इलेक्ट्रोनिक्सका लागि छुट दिंदै ट्यारिफ २०% मा झारेको थियो — जसलाई अर्थतन्त्रमा परेको असरको अप्रत्यक्ष स्वीकारोक्ति मानिएको थियो।
तर मे महिनामा दुवै देशबीच सहमति हुँदै ट्यारिफ दर घटाइएको थियो — चीनले अमेरिकी निर्यातमा लाग्ने कर १२५% बाट १०% मा झार्यो भने अमेरिकाले १४५% बाट ३०% मा घटायो। त्यसपछि दुवै देशका शेयर बजारमा सुधार आएको थियो।
तर अहिले ट्रम्पको नयाँ घोषणा पछि पुनः व्यापार युद्धको जोखिम तीव्र बनेको विश्लेषकहरूको मूल्यांकन छ।



