भेनेजुएलाकी प्रजातन्त्र नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्र आन्दोलनकी नेतृ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नर्वेको राजधानी ओस्लोमा शुक्रबार आयोजित समारोहमा समितिले मचाडोलाई “भेनेजुएलाका जनताका लागि प्रजातान्त्रिक अधिकारको प्रवर्द्धन” गरेको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो।
नोबेल समितिले मचाडोलाई “बढ्दो अन्धकारबीच पनि लोकतन्त्रको ज्योति निभ्न नदिई निरन्तर संघर्ष गर्ने नेतृ” भनेर उल्लेख गरेको छ। समितिका अनुसार उनले भेनेजुएलामा तानाशाहीबाट न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणका लागि नेतृत्वदायी भूमिका खेलेकी छन्।
भेनेजुएलाको राजधानी काराकासमा सन् १९६७ मा जन्मेकी मचाडो राजनीतिमा प्रवेश गर्नु अघि औद्योगिक इन्जिनियरका रूपमा तालिम लिएकी थिइन्। सन् २००२ मा उनले ‘सुमाते’ नामक स्वयम्सेवी संस्था स्थापना गरेकी थिइन्, जसले राजनीतिक अधिकारको प्रवर्द्धन र निर्वाचनको निगरानीमा काम गर्छ।
मचाडो सन् २०२४ को निर्वाचनमा विपक्षी राष्ट्रपतिको उम्मेदवार थिइन्, तर राष्ट्रपति निकोलस मादुरोको सरकारले उनलाई उम्मेदवारी दिन रोक लगाएको थियो। त्यसपछि उनले एडमन्डो गोन्जालेज उरुटियाको उम्मेदवारीलाई समर्थन गरेकी थिइन्।
नोबेल समितिले मचाडोले चुनावमा पारदर्शिता कायम गर्न, मतपेटीहरू सुरक्षित गर्न र शासनद्वारा परिणाम तोडमोड गर्न नदिने प्रयास गरेकोमा उनको प्रशंसा गरेको छ। समितिले भन्यो, “मारिया कोरिना मचाडोले भेनेजुएलामा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिएकी छन् र उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट परिवर्तन सम्भव छ भन्ने सन्देश दिएकी छन्।”
यस वर्ष रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा र साहित्यका नोबेल पुरस्कारहरू पनि प्रदान भइसकेका छन् भने अर्थशास्त्रतर्फको पुरस्कार सोमबार घोषणा गरिने छ।
गत वर्ष सीएनएनसँगको अन्तर्वार्तामा मचाडोले भनेकी थिइन्, “हामी हाम्रो देशमा शान्तिपूर्ण प्रजातान्त्रिक संक्रमण सुनिश्चित गर्न प्रतिबद्ध छौं।”