ओली–लेखकको मुद्दा आयोगले नहेर्ने, जाहेरी प्रहरीमै फिर्ता
काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो। तर आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीबाट पठाइएको जाहेरी फिर्ता पठाइएको उल्लेख गरेको छ।
आयोगले विज्ञप्तिमा भनेको छ, “फौजदारी वारदातमा विस्तृत अनुसन्धान, तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र पर्दैन।” विज्ञप्तिमा थप भनिएको छ, “फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ।”
भदौ २३ र २४ गतेको घटनामा जेनजी पुस्ता आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारले ओली र लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गर्दै जाहेरी दिएका थिए। आयोगले सो जाहेरी प्रहरीमै फिर्ता पठाएको जनाएको छ।
