ट्रम्पको पहलमा इजरायल–हमासबीच शान्ति सम्झौता, सबै बन्धकहरू रिहा हुने सहमति

तु खबर संवाददाता
२०८२ आश्विन २३, बिहीबार ०८:३८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच शान्ति सम्झौताको पहिलो चरणमा सहमति भएको छ। उक्त सम्झौता अनुसार, गाजामा रहेका सबै बन्धकहरूलाई तुरुन्तै रिहा गरिने भएको छ।

ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने, “ठूलो कुरा यो हो कि बन्धकहरूलाई रिहा गर्न गइरहेका छन्। सम्भवतः सोमबारसम्म यो कार्यान्वयन हुनेछ।” उनले यस सम्झौतालाई “विश्वका लागि महान दिन” भनेर उल्लेख गरे र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आफ्नो टेलिफोन वार्ता भएको पनि पुष्टि गरे।

प्रधानमन्त्री नेतान्याहुले सम्झौताको स्वागत गर्दै यसलाई कूटनीतिक सफलता र राष्ट्रिय–नैतिक विजय” भनेका छन्। उनका अनुसार, “यस सम्झौताले हाम्रो जनताको पीडामा आशा र राहत ल्याएको छ।”

हमासका प्रवक्ताले भने, सम्झौतामा “गाजामा युद्धको अन्त्य, कब्जा फिर्ता, सहायताको प्रवेश र कैदी आदानप्रदान” समावेश गरिएको बताएका छन्। हमासले प्यालेस्टिनी कैदीहरूको नामावली इजरायललाई हस्तान्तरण गरेको पनि पुष्टि गरेको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सम्झौताको “पूर्ण कार्यान्वयन” मा समर्थन जनाउँदै भने, “लडाइँ एक पटक र सबैका लागि रोकिनुपर्छ। गाजामा मानवीय आपूर्ति र पुनर्निर्माणका प्रयास तुरुन्त सुरु हुनुपर्छ।”गाजाका विभिन्न सहरहरूमा सम्झौतापछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। खान युनिसमा बालबालिकादेखि वृद्धसम्मका नागरिकहरू सडकमा नाचगान र रमाइलो गर्दै सम्झौताको स्वागत गरेको दृश्य देखिएको छ।पूर्व बन्धकहरू र बन्धक परिवारहरूले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति धन्यवाद व्यक्त गरेका छन्। एक पूर्व बन्धक ओहाद बेन अमीले इन्स्टाग्राममा लेखेका छन्, “म विश्वास गर्न सक्दिन। म बाँकी साथीहरूलाई अँगालो हाल्ने प्रतिक्षामा छु। धन्यवाद, ट्रम्प।”

सीएनएन समाचारका अनुसार इजरायलमा युद्ध सुरु भएदेखि अहिलेसम्म १४८ जना बन्धकहरू सुरक्षित फिर्ता भइसकेका छन्, जसमा केहीलाई इजरायली सेनाले उद्धार गरेको थियो। बाँकी बन्धकहरूमा ४८ जना अझै हमासको नियन्त्रणमा रहेका छन्, जसमा पाँच विदेशी नागरिक (तीन थाइल्याण्ड, एक तान्जानिया र एक नेपाल) पनि छन्।ट्रम्प प्रशासनले “शान्ति परिषद्” गठन गरेर गाजाको पुनर्निर्माणमा क्षेत्रीय देशहरूलाई सहभागी गराउने घोषणा गरेको छ। ट्रम्पले भनेका छन्, “गाजा पुनर्निर्माणका लागि मध्यपूर्वका अन्य देशहरू पनि अगाडि आउनेछन्। हामी शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न प्रतिबद्ध छौं।”

यस सम्झौतापछि अमेरिकी राष्ट्रपति ट्रम्पको इजरायल भ्रमणको तयारी भइरहेको बताइएको छ। नेतान्याहुले उनलाई नेसेटमा सम्बोधन गर्न निम्तो दिएका छन्।दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमणमा १,२०० भन्दा बढी मानिस मारिएका थिए र २५० भन्दा बढी बन्धक बनाइएका थिए। त्यसयता जारी इजरायली आक्रमणमा ६७ हजारभन्दा बढी गाजावासीको ज्यान गएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।यो सम्झौता दुई वर्ष लामो रक्तपात अन्त्यतर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको छ।