वाशिंगटनमा कार्नी–ट्रम्प भेट : व्यापार तनावबीच सौहार्दपूर्ण संवाद

तु खबर संवाददाता
२०८२ आश्विन २२, बुधबार १०:४७

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वाशिंगटनमा भएको भेटवार्तामा व्यापार तनावका विषयमा छलफल गरेका छन्। महिनौँदेखि जारी असमझदारी र अमेरिकी शुल्क नीतिबारे क्यानाडाको असन्तुष्टिका बीच पनि दुबै नेताबीचको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

भेटअघि कार्नीले ट्रम्पसँग हात मिलाउँदा व्यङ्ग्यात्मक रूपमा भने, “मैले तिम्रो लागि रातो टाई लगाएको छु,’ भनेका थिए — रिपब्लिकन ब्रान्डिङसँग मेल खाने संकेतका रूपमा। तर ट्रम्पले निलो टाई लगाएका थिए।

स्टिल, एलुमिनियम, अटोमोबाइल र काठमा लगाइएका अमेरिकी ट्यारिफ कम गर्न कार्नीले ट्रम्पसँग वार्ता गरे पनि तत्काल ठोस सहमति जुटेन। बैठकपछि उनले पत्रकारहरूसँग भने, “हामी खुसीले टाढा गयौं,’ यद्यपि ट्रम्पले त्यसको स्पष्ट व्याख्या गर्न मानेनन् र मात्र भने, ‘तपाईंले पत्ता लगाउनुहुनेछ।’

सीएनएन समाचारका अनुसार ट्रम्पले क्यानाडा–अमेरिका सम्बन्धबारे भने, ‘हामीबीच प्रेम पनि छ, द्वन्द्व पनि — त्यसैले यो सम्झौता अरूभन्दा जटिल छ।’ उनले कार्नीलाई ‘राम्रो व्यक्ति तर कहिलेकाहीँ कडा हुनसक्ने’ भन्दै प्रशंसा गरे।

कार्नीले भने ट्रम्पको ‘परिवर्तनकारी नेतृत्व’ को प्रशंसा गर्दै भारत–पाकिस्तान र अजरबैजान–आर्मेनियाबीचका द्वन्द्व समाधानमा ट्रम्पको भूमिकाको उल्लेख गरे। उनले हाँस्दै भने, ‘तर क्यानाडा र संयुक्त राज्य अमेरिकाको विलय होइन।’

हाल अमेरिका–क्यानाडा व्यापार सम्बन्धमा तनाव जारी छ। क्यानाडा जी ७ को एकमात्र देश हो जसले अमेरिकी दण्डात्मक शुल्क रोक्ने सम्झौता अझै गर्न सकेको छैन। यसको प्रभाव क्यानाडाको अर्थतन्त्र र कार्नीको लोकप्रियतामा देखिएको बताइन्छ।

बैठकको अन्त्यतिर एक पत्रकारले ‘यदि दुबैजना महान व्यक्ति हुनुहुन्छ भने सम्झौता किन हुन सकेन?’ भनेर सोध्दा ट्रम्पले हाँस्दै जवाफ दिए, ‘किनभने म पनि महान बन्न चाहन्छु।’ त्यसपछि दुबै नेताले पत्रकारलाई बाहिर पठाई निजी रूपमा कुराकानी जारी राखे।